पूर्वको पाँचथर चिवाभञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म धमाधम मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्माण हुँदै छ । सरकारले सोही राजमार्गमा १२ वटा सुविधासम्पन्न आधुनिक शहर निर्माण गर्दै छ ।
मध्यपहाडी राजमार्गले २४ जिल्ला छिचोल्दै १ हजार ७ सय ७६ मिटर लामो यात्रा तय गर्छ । महेन्द्र राजमार्गको विकल्पको रूपमा पहाडी भेगमा यातायात सुविधा चुस्त बनाउन राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण हुँदै छ । पहाडबाट तराई र शहरतिर तीव्र रूपमा भइरहेको बसाइँ रोक्न आधुनिक शहर निर्माण थालिएको हो ।
बसाइँसराइले शहर र तराईमा बस्ती बाक्लिँदै गयो । तर, पहाड र हिमाली भेगका बस्ती खाली हुँदै गए । सुविधा खोज्दै बसाइँसराइ गर्नेहरूलाई आफ्नै थलोमा रोक्न आधुनिक शहरले केही हदसम्म भूमिका खेल्ने सरकारको ठहर छ । मध्यपहाडी राजमार्गको छेउछाउमा शहरी सेवासुविधा उपलब्ध गराउन सकेको खण्डमा बसाइँसराइ पनि घटाउन सकिन्छ ।
सरकारले आधुनिक नयाँ शहर विकास गर्ने घोषणा गरेको छ । गत वर्ष नयाँ शहरलाई बसाइँसराइ रोक्ने ‘गेम चेन्जर’ परियोजना घोषणा गरेर काम अगाडि बढाइएको छ ।
कहाँ–कहाँ बन्दै छन् नयाँ शहर ?
पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, प्युठानको भिंग्री, रुकुमको चौरजहारी, सुर्खेतको भेरिगंगा, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा आधुनिक सुविधासम्पन्न शहर बसाल्ने काम भइरहेको छ । यीमध्ये प्युठानको भिंग्री र सुर्खेतको भेरिगंगा पछि थपिएका परियोजना हुन् ।
नयाँ शहरमा कम्तीमा एक लाख मान्छेको बसोबास गराउने सरकारको लक्ष्य छ । ती शहरमा एक लाख मान्छेका लागि चाहिने आधुनिक सुविधा विकास गरिने शहरी विकास मन्त्रालयअन्तर्गत नयाँ शहर आयोजना समन्वय कार्यालयकी प्रवक्ता इ. रमिता तचामो बताउँछिन् ।
नयाँ शहर विकास भइसकेपछि मान्छेको बसाइँसराइ केही हदसम्म रोकिने सरकारको विश्वास छ । ‘नयाँ शहर निर्माणको काम सुरु भएपछि स्थानीय खुशी छन्,’ तेह्रथुमको वसन्तपुर नयाँ शहर परियोजनाका प्रमुख सुरेन्द्र शम्भो भन्छन्, ‘सुविधासम्पन्न शहर निर्माण हुने भएपछि घरजग्गा कारोबार बढ्नुका साथै स्थानीयमा उत्साह छाएको छ ।’
सरकारले स्थानीय अवसरलाई पहिचान गरेर उद्यमशीलता र रोजगारी सिर्जना गर्ने गरी नयाँ शहर विकास गर्दै छ । त्यहाँको बसोबास सुविधायुक्त हुने मात्र होइन, रोजगारी र उद्यमशील बन्ने अवसर पनि स्थानीय स्तरमै पाइनेछ ।
शम्भोका अनुसार वसन्तपुर नयाँ शहर कृषि र पर्यटनमा आधारित भएकोले सोहीअनुरूप शहरको विकास भइरहेको छ । ‘पहिलो चरणमा गाउँसँग नयाँ शहरको पहुँच हुने सडक विस्तारमा जोड दिइरहेका छौँ,’ उनी भन्छन्, ‘किसानले आफ्नो गाउँको उत्पादन बजारसम्म पु¥याउन सक्नुपर्छ । पर्यटक आगामन बढाउन सकियो भने स्थानीयको उद्यमशीलता र रोजगारीमा टेवा पुग्छ ।’
पहाडबाट बसाइँसराइ रोक्न पनि मध्यपहाडी राजमार्ग र नयाँ शहरको अवधारणा ल्याइएको पूर्वाधार विज्ञको दाबी छ । प्रस्तावित नयाँ शहरहरूको एकीकृत विकास योजना (आईडीपी) तयार गरेर पूर्वाधार निर्माण र ल्यान्डपुलिङको काम सुरु भइसकेको इ. रमिता बताउँछिन् ।
सरकारले समयको माग र आवश्यकताअनुसार सुविधा थप्दै २०९० सालसम्म आधुनिक सुविधासम्पन्न नयाँ शहर निर्माण गर्ने लक्ष्य लिएको छ ।
नयाँ शहरको उद्देश्य
नयाँ शहर परियोजना समन्वय कार्यालयकी प्रवक्ता इ. रमिताका अनुसार पहाडबाट भइरहेको बसाइँसराइ रोक्नु नै परियोजनाको मुख्य उद्देश्य हो । ‘मान्छे रोजगारी र सुविधा खोज्दै पहाडबाट शहर छिरिरहेका छन्,’ उनी भन्छिन्, ‘शहरको सुविधा गाउँमै उपलब्ध गराएर बसाइँसराइ रोक्न सकिन्छ ।’
शहरीकरणलाई व्यवस्थित गरी प्रत्येक शहरलाई त्यस क्षेत्रको केन्द्रको रूपमा विकास गरिनेछ । ठूला शहरी क्षेत्र, तराई तथा कृषि योग्य क्षेत्रमा हुन सक्ने बसाइँसराइलाई नियन्त्रण गर्न पनि पहाडमा व्यवस्थित शहरको आवश्यता छ ।
बस्तीहरूको विकासको रणनीतिक योजना, कार्यक्रम, भू–उपयोग तथा विकास रणनीति तयार पार्ने सरकारको योजना छ ।
कृषि, पर्यटन, शैक्षिक तथा औद्योगिक क्षेत्रको विकास एवं प्रवद्र्धन, ग्रामीण विकास एवं प्रवद्र्धन गरी आर्थिक क्रियाकलाप क्रियाशील गर्ने पनि नयाँ शहर परियोजनाको उद्देश्य हो ।
ग्रामीण क्षेत्रबाट ठूला शहरमा हुने बसाइँसराइलाई कम गर्दै साना र मझौला आधुनिक शहरको विकास गर्दै जाने पनि सरकारको योजना छ ।
नयाँ शहर विकासको लागि आवश्यक पर्ने विभिन्न पूर्वाधारको लागि आवश्यक पर्ने जग्गा प्रत्येक वर्ष क्रमशः प्राप्त गर्दै जाने र शहरी विकासका प्रचलित विभिन्न तरिका अपनाई जग्गा र बस्तीको विकास गरिने व्यवस्था हुनेछ ।
नयाँ शहरका सुविधा
निर्माणाधीन नयाँ शहरमा चौडा सडक, खानेपानी, खेलकुद मैदान, मनोरञ्जन पार्क, बसपार्क, आधुनिक बस्ती, अस्पताल, स्कुल/कलेज, हाट बजार, औद्योगिक क्षेत्र, पर्यटन स्थललगायत पूर्वाधार विकास गरिने बताइएको छ । इन्टरनेट र यातायातको सुविधा पनि हुनेछ । इ. रमिता भन्छिन्, ‘मान्छेलाई चाहिने न्यूनतम सुविधा नयाँ शहरमा उपलब्ध हुने छन् ।’ विकासको पहिलो शर्त सडक भएको हुनाले अहिले हरेक शहरमा सडक सञ्जाल विस्तारमा तीव्रता दिइएको छ । नयाँ शहरलाई गाउँसम्म जोड्न पक्की, गाभ्रेल र कच्ची सडक निर्माण भइरहेका छन् ।
नयाँ शहरमा व्यवस्थित बस्ती विकास हुनेछ । परियोजनाले जग्गा प्राप्ति गरेर सडक, खानेपानी, बिजुली, ढल, खुलापार्कलगायत सुविधासहितका प्लट बनाएर हस्तान्तरण गर्नेछ । पहिला पूर्वाधार विकास गरिनेछ अनि मात्र बस्ती विकास हुनेछ । इ. रमिताका अनुसार हरेक शहरमा व्यवस्थित बस्ती विकासका लागि चार सयदेखि आठ सय रोपनीसम्म ल्यान्डपुलिङ हुनेछ । त्यहाँ नमुना बस्ती बसालिनेछ । क्रमशः थप जग्गा लिँदै बस्ती विकास गर्दै अगाडि बढ्ने योजना छ ।
कतिपय शहरमा ल्यान्डपुलिङको काम सुरु भइसकेको छ भने कतिपय शहरमा ल्यान्डपुलिङको प्रक्रिया सुरु हुँदै छ ।
नयाँ शहरका लागि खर्बमा लगानी हुन्छ । तर, सरकारले बजेट विनियोजनमा कञ्जुस्याइँ गर्दै आइरहेको छ । जसले गर्दा काम अगाडि बढाउन कठिन भइरहेको छ । नयाँ शहर सरकारको प्राथमिकतामा त्यति परेको देखिँदैन । तर, सरकारले नयाँ शहरलाई गेम चेन्जर परियोजनामा पारेको छ । १० वटा शहरबाट सुरु भएको परियोजनाअन्तर्गत अहिले हिमाल, पहाड र तराईमा गरी ४५ नयाँ शहर पुगिसके । ट्रान्स हिमालय क्षेत्रमा पाँच शहरको अध्ययन भइरहेको छ । तर, शहरको संख्यासँगै बजेट भने बढाइएको छैन । सरकारले ४० शहरका लागि दुई अर्ब रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ ।
नयाँ शहर निर्माणका लागि स्थानीय बासिन्दा, राजनीतिक दल र अरू सरोकारवालाहरू सकारात्मक छन् । नयाँ शहरमा बसाइ बढेपछि आर्थिक क्रियाकपलाप बढ्नेछन् । आर्थिक क्रियाकलाप बढेपछि उद्यमशीलता र रोजगारी सिर्जना हुनेछन् । निजी क्षेत्रको लगानी पनि आकर्षित हुनेछ ।
निर्माणाधीन नयाँ शहरले बसाइँसराइ रोक्ने मात्र होइन, स्थानीयको आर्थिक तथा सामाजिक स्तर उकास्न पनि महत्वपूर्ण योगदान गर्ने प्रवक्ता रमिता बताउँछिन् । सरकारले मान्छेको इच्छा, आकांक्षा, भौगोलिक अवस्था, त्यस क्षेत्रका अवसरको अध्ययन गर्दै सुविधा थप्दै जानेछ ।
उत्साहित स्थानीय
अहिले देशभर शहरीकरण बढिरहेको छ । मध्यपहाडी राजमार्गको छेउछाउमा नयाँ शहर विकास गरेर बसाइँसराइ रोक्ने रणनीति सकारात्मक भएको विज्ञ बताउँछन् । नयाँ शहरको काम सुरु भएपछि स्थानीय स्तरमा उत्साह थपिएको छ । प्रवक्ता रमिताका अनुसार मान्छेले आफ्नै थातथलोमा अवसर देख्न थालिसकेका छन् । कतिपय ठाउँमा घरजग्गाको किनबेच पनि बढिसकेको छ । सुन्दर भविष्यको परिकल्पना गर्दै त्यस ठाउँमा घडेरीको मूल्य पनि अचाक्ली बढिसकेको छ । कतिपय शहरमा चहलपहल बढिसकेको छ । होटल तथा रेस्टुरेन्ट खुल्न थालिसकेका छन् । घरजग्गामा लगानी गर्नेका लागि नयाँ शहर परियोजना उपयुक्त ठाउँ हुनेछ ।
नयाँ शहरमा मान्छेको भीडभाड बढ्ने भएकोले अहिले व्यवस्थित बसोबासका लागि हाउजिङ, सेवा, व्यापार, पार्किङ, बसपार्क, चौडा सडक, कृषि बजार, हाट बजार, व्यापारिक क्षेत्र, मनोरञ्जन पार्कलगायत निर्माणमा ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ ।
कोभिड–१९को प्रभाव
कोभिड–१९ महामारीको असर देशैभरि निर्माणधीन नयाँ शहर विकासको काममा पनि परेको छ । सुरुको छ महिना साइटमा काम गर्न नसकिएको वसन्तपुर परियोजनाका प्रमुख शम्भो बताउँछन् । ‘तर, लकडाउन खुकुलो भएसँगै नयाँ शहरको कामले गति लिँदै गइरहेको छ,’ उनी भन्छन् ।
Source:.nepalhomes