नेपाली पात्रो अनुसार नयाँ बर्ष सुरु हुँदैछ । नयाँ बर्षमा के गर्ने ? संभवत यो प्रश्नको जवाफ एउटै हुनेछ, परिवारसँग बसेर रमाइलो गर्ने ।
यतिबेला सबैजना आ–आफ्नै परिवारसँग छन् । राम्रो त के भएको छ भने, यसपाली बालबच्चाले पनि आफ्ना आमाबुवासँग रमाइलो गर्न पाउनेछन् । विगतमा जस्तो बुवा आफ्नै दौतरीसँग, आमा आफ्नै संगीसँग भुलिने छैनन् । हजुरआमा–हजुरबा पनि खुसी हुनेछन् ।
नयाँ बर्ष एक बाहाना पनि हो, केही प्रण गर्ने । केही लक्ष्य तय गर्ने । केही त्याग्ने ।
जस्तो कि कसैले भन्न सक्छन्, ‘यो बर्ष म कुनै एक कल्याणकारी काम गर्नेछु ।’
कसैले भन्नेछन्, ‘यसपाली म आफ्नो व्यवसायलाई यो तहसम्म पु¥याउनेछु ।’
कसैले भन्नेछन्, ‘म यसपालीदेखि मदिरा त्याग्नेछु ।’
कम्तीमा जीवनलाई सार्थकता दिनका लागि कसैले केही न केही गर्नेछन् । भलै त्यो कति सफल र व्यवहारिक हुनेछ ।
अहिले हामी यस्तो घडीमा छौं कि, उल्लासमय ढंगले नयाँ बर्ष मनाउन मानविय स्वभावले दिनेछैन । परिवारसँग सामान्य हिसाबले रमाइलो गर्नु आफ्नो ठाउँमा छ, तर तामझामका साथ नयाँ बर्ष मनाउने योजना बनाउने मुड पक्कै हुनेछैन ।
वैश्विक संकटको यो क्षणमा हामीलाई तामझाम र तडकभडक सुहाउँदैन पनि । यद्यपि नयाँ बर्षका लागि केही प्रण गर्न सकिनेछ । केही नयाँ सुरुवात गर्न सकिनेछ । तर, के गर्ने ?
सबैभन्दा अर्थपूर्ण यो हुनेछ कि, रुख रोपौं ।
रुख रोप्ने काम किन अर्थपूर्ण एवं सार्थक हुनेछ ? यसका लागि मनन गर्नुपर्ने एउटा कुरा छ ।
तपाईंले आफ्ना बालबच्चाका लागि शिक्षादिक्षा दिइरहनुभएको छ । धनदौलत जोडिदिनुभएको छ । जीवन विमा गरिदिनुभएको छ । अभाव र समस्या नहोस् भनेर सबैजसो व्यवस्था गरिदिनुभएको छ । किन ? किनभने तपाईं चहनुहुन्छ, ‘मेरा सन्ततीको भविष्य सुरिक्षत होस् ।’
आफ्नो सन्ततीको भविष्य सुरक्षित चाहनुहुन्छ भने शिक्षादिक्षा, वैंक व्यालेन्स, जीवन विमा जति महत्वपूर्ण हो, त्यो भन्दा कम होइन रुख रोप्ने काम । रुख रोप्ने वा संरक्षण गर्ने काम आफैमा यति सार्थक हो कि, जसले चराचर जगतकै भलाईमा सहयोग पुग्नेछ ।
आफ्ना सन्तान मात्र होइन, आफ्ना वंश वा जाति मात्र होइन । आफ्ना समाज वा राष्ट्र मात्र होइन । समग्र पृथ्वी र चराचर जगतकै लागि यो फलदायी हुनेछ ।
भोलिको सबैभन्दा ठूलो संकट के हो ? जलवायु परिवर्तनको तिब्र प्रभावसँगै हाम्रो सामुन्ने संकटको बादल मडारिन थालेको छ । वन विनास, भौतिक अतिक्रमण आदिले गर्दा आज पर्यावरणिय चक्र नै असन्तुलित हुन पुगेको छ । त्यसैले पानी पर्नुपर्ने मौसममा टन्टलापुर घाम लाग्न थालेको छ । घाम लाग्नुपर्ने मौसममा हिमपात सुरु भएको छ ।
यसरी पर्यावरणिय चत्र असन्तुलित हुँदै गएको छ । अतः यसको भयानक नतिजा भोलिका दिनमा हाम्रा सन्ततीले झेल्नेछन् ।
त्यसैले, नयाँ बर्षमा हामी रुख रोपौं । यो एक सुरुवात हुनेछ, नयाँ संस्कारको । भोलिका दिनमा हरेक नयाँ बर्षमा रुख रोप्ने संस्कृति नै विकास भएर गएमा वा हाम्रा सन्ततीले त्यसको अनुसरण गरेमा कति राम्रो हुनेछ !
रुख रोप्नुलाई हाम्रा पूर्खाहरुले पूण्यको काम ठाने । उनीहरुले थरीथरीका वनस्पति संकलन गर्दै रोपे । ठाउँ ठाउँमा बर र पिपल रोपे ।
आज कोरोना जस्तो महामारी फैलिएको छ । भोलि खाद्य संकट छाउनेछ । भोकमरी सुरु हुनेछ । जब जब हामी प्रकृतिको बिरुद्ध जाइलाग्नेछौं, यस्ता संकटहरुले घेरिरहनेछ । त्यसैले भोलिका दिनमा यस्ता संकटहरु देख्न र झेल्न नपरोस भन्नका लागि पनि आज हामीले आफ्ना बालबच्चालाई भन्नुपर्छ कि, तिमी प्रकृतिसँग मिलेर बस ।
जब हामी रुख रोप्न सुरु गर्नेछौं, त्यसले अरु धेरै फाइदा गर्नेछ । पर्यावरणमा त यसको योगदान रहने नै भयो । त्यसबाहेक हाम्रा बालबच्चामा नयाँ संस्कारको विकास हुनेछ । प्रकृति र बनजंगलको महिमा बुझ्नेछन् ।उनीहरुले रुख बिरुवालाई माया गर्न थाल्नेछन् । प्रकृतिसँग एकाकार भएर बाँच्न सिक्नेछन् । यसले भोलिका दिनमा उनीहरुलाई बाँच्न र रमाउनका लागि सहज बनाइदिनेछ ।
रुख रोप्ने क्रममा बच्चालाई सहभागी गराउनु उपयुक्त हुनेछ ।
तपाईंको बच्चाले के सिक्नेछन् ?
–रुख बिरुवा रोप्न, गोडमेल गर्न सिक्नेछन् ।
–रुख बिरुवाको महत्व बुझ्नेछन् ।
–मौसमी चक्र वा रुख बिरुवा रोप्ने, स्यहार्ने प्रक्रिया बुझ्नेछन् ।
–आफुले रोपेको रुख हुर्कदै जाँदा उनीहरुमा उत्साह पनि थपिनेछ ।
–कम्तीमा प्रकृति र पर्यावरणको लागि तपाईंको बच्चाको पनि योगदान रहनेछ ।
–प्रकृतिसँग रमाएर बाँच्न सिक्नेछ ।
आजको भोलि नै रुख रोप्नुपर्छ भन्ने छैन । अहिले लकडाउनको कारण बाहिर हिँडडुल गर्न सहज छैन । त्यसैले आफ्नो अनुकुलता हेरेर रुख रोप्न सकिन्छ ।
रुख रोप्नका लागि आफ्नै बारी हुनुपर्छ भन्ने छैन । सार्वजनिक स्थानमा पनि वृक्षरोपण गर्ने व्यवस्था हुन्छ । आफन्त, छिमेकीकहाँ पनि रोप्न सकिन्छ । रुख रोप्नु भनेको त्यसमा आफ्नो स्वमित्व दावी गर्नु भने होइन ।
बिरुवा कस्तो रोप्ने र कुन मौसम अनुकुल हुन्छ भन्ने कुरा पनि ख्याल राख्नुपर्छ ।
#OnlineKhabar