वरिष्ठ गीतकार ‘तृषित’ रहेनन्

0

‘मान्छेको माया यहाँ खोलाको पानी जस्तो...’ होस् या ‘मैले पुन्य मन पराएँ या पाप मन पराएँ...’ जस्ता कालजयी गीतका रचयिता राममान ‘तृषित’को मंगलबार बिहान सवा चार बजे निधन भएको छ ।

विगत चार महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि सातामा दुई पटक डायलोसिस गराउँदै आएका उनी आफैं पनि चिकित्सक पेशामा समेत थिए । नेपालमै अकुपङ्कचर सेवाको पहिलो सुरुवात वीर अस्पतालमा सुरु गराएका ‘तृषित’ बहु आयामिक थिए ।

चित्रकलामा समेत राम्रो दख्खल भएका उनी छात्रवृत्तिमा चित्रकला पढ्न चीन जाने क्रममै चिकित्सा अध्ययन गरेर फर्किएका थिए । स्वर सम्राट नारायण गोपालले यिनै गीतकारको गीत ‘पंक्षिको पंखमा धर्तीको याद दियो...’ बाट २०१६ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए । रेडियो नेपालका गीतमा माधव खनाल ‘भावुक’ पछिका दोस्रो गीतकार रहेका डा. राममानले प्रायः रोमान्टिक गीतहरु लेखेको गायक प्रेमध्वज प्रधान स्मरण गर्छन् । केही गीतमा आफैं संगीत समेत भरेका ‘तृषित’का गीतमा नारायण गोपाल, योगेश वैद्य, प्रेमध्वज जस्ता हस्तीले स्वर भरेका छन् ।

दोस्रो विवाह गरेका उनी एक छोरा र पत्नि सहित चाबहिलको मैजुबहालमा बस्दै आएका थिए । ‘तिमीले सोध्यौ सन्चै छौ भनी म सन्चो भईहालें...’का गीतकार ‘तृषित’ले २०१० सालमै नवकला परिवारको स्थापना गरी शिवशंकर, तारादेवी, प्रेमध्वज लगायतालाई लिएर काठमाडौंका विभिन्न चोकमा निःशुल्क सांगितीक कार्यक्रम गर्थे । यसै परिवारबाटै नारायणगोपाल लगायतका गायक /गायिकाको जन्म भएको मानिन्छ ।

अन्तिम श्रद्धान्जलीका लागि विहान ८ देखि १२ बजेसम्म नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा राखिएको उनको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा छोरा रजन श्रेष्ठले दागबत्ति दिने बताईएको छ ।

यस्तै प्रधानमन्त्री झलनाथ खनालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसर पुगेर तृषितको शवमा पुष्पार्पण गरी अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले गीतकार तृषितको निधन प्रति प्रधानमन्त्रीले परिवारजनमा समवेदना दिएका छन् ।

Via :कान्तिपुर

सम्प्रेषक : वेदनाथ पुलामी !

Post a Comment

0Comments

Post a Comment (0)