ट्राफिक जरिवाना इन्टरनेटबाटै तिर्न सकिने

0
ऋचा अर्याल, काठमाडौ- ट्राफिक प्रहरीले उपत्यकामा इ-बैंकिङ सुरु गर्ने भएको छ। सवारीचालकले नियम उल्लंघन गरे, सम्बन्धित ट्राफिक कार्यालय गएर जरिवाना तिर्दै आएकोमा इ बैकिङ सुरु भएपछि इन्टरनेटबाटै त्यो सुविधा उपलब्ध हुने छ।

‘इन्टरनेटबाटै तोकिएको बैंक एकाउन्टमा नगद राखिदिए जरिवाना प्रक्रिया पूरा हुनेछ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं डिआइजी विज्ञानराज शर्माले मंगलबार संवाददाता भेलामा भने, ‘यसै वर्षबाट सुरु हुने यो प्रक्रियाबारे अध्ययन थालिसकेका छौं।'

इ-बैंकिङले जरिवाता तिर्न लाइन बस्नुपर्ने कठिनाइबाट मुक्त गर्ने भए पनि जफत गरिएका कागजात (लाइसेन्स इत्यादि) फिर्ता लिन जरिवाना तिरेको रसिदसहित सम्बन्धित ट्राफिक कार्यालय पुग्नै पर्ने बाध्यतालाई तत्काल हटाउन सक्ने छैन। ‘पहिलो फेजमा प्रारम्भिक तयारीका आधारमा अघि बढ्न थालेका हौं,' शर्मा भन्छन्, ‘पछिल्ला फेजमा क्रमशः अन्य कठिनाइ पनि घटाउने उपाय अवलम्बन गरिने छ।'

चार महिनाअघि सुरु भएको उपत्यकाको ट्राफिक नियन्त्रण अझ प्रभावकारी बनाउने प्रयासकै निरन्तरताका रूपमा अत्याधुनिक प्रविधिको प्रयोगलाई ट्राफिकले अघि सारेको हो। कार्यक्रममा पछिल्ला उपलब्धिबारे जानकारी गराउनुका साथै भावी योजनाबारे बताइएको थियो।

‘इन्टरनेटबाट जरिवाना तिर्दा प्रक्रिया सरल बन्न जाने मात्र होइन,' शर्माले भने, ‘यस्ता जरिवाना सही रूपले राजस्वमा पुग्ने र पारदर्शिता पनि कायम हुने भएकाले ट्राफिकको चरित्रमा कसैले प्रश्न उठाउन पाउने छैन।'

शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा अहिल्यै ट्राफिक राजस्व दोब्बर उठिसकेको छ। पछिल्लो चार महिनामै एक लाख ६४ हजार तीन सय आठ सवारीलाई कारबाही गरेर एक करोड चालीस लाख ९४ हजार ९ सय २५ रुपैया राजस्व संकलन गरिएको कार्यक्रममा जानकारी दिइयो।

शर्माका अनुसार ट्राफिक सुधार कार्यक्रमअन्तर्गतै आगामी वर्षभित्र सुविधासम्पन्न कन्ट्रोल रूमसमेत तयार पारिने छ। त्यहाँका मनिटरबाट उपत्यकाका प्रमुख चोकमा राखिएका सिसिटिभीको दृश्य देखिने व्यवस्था मिलाइने छ। भर्खरै तयार भएको तीनकुने-सूर्यविनायक छ लेन सडकलाई प्राथमिकतामा राखेर व्यवस्थित पारिने ट्राफिकको योजना छ। त्यसका निम्ति सडक सुहाउँदो संकेत, लेनको बन्दोबस्त र गति सम्बन्धी सुचना उल्लेख गरिने छ।

‘मेरो कार्यकालको चार महिनामा उपत्यकाका सबै समस्या हल गर्न नसकेपनि चक्रपथलाई व्यवस्थित गर्ने, फुटपाथ पार्किङ हटाउने र सडकमा विभिन्न संकेत थप गर्ने काम सम्पन्न भएको छ,' महाशाखा प्रमुख शर्माले भने, ‘त्यसबाहेक चोरी भएका सवारीबारे छानबिन गर्न भिक्टिम सर्पोट युनिट गठन तथा ट्राफिकले ड्यूटीको समयमा सवारी धनीबाट अनावश्यक पैसा असुल गरे/नगरेको हेर्न तथा त्यसको छानबिन गर्न भ्रष्टाचार छानबिन टोलीसमेत गठन गरेको छु।'


अब ट्राफिक एफएम
यसै वर्षभित्र ट्राफिक एफएम सञ्चालन सुरु गरिने योजनासमेत ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ। विकसित सहरमा जस्तै सवारीका निम्ति उपयोगी सूचना मात्र दिने यस्तो एफएमको तयारीबारे गत वर्ष नै ट्राफिकले जानकारी दिए पनि काम अघि बढेको थिएन। यस वर्ष भने अध्ययन गरेर अर्थ मन्त्रालयसँग बजेटसमेत माग भइसकेको डिआइजी विज्ञानराज शर्माले जानकारी दिए।

‘एफएम चलाउन अर्थ मन्त्रालयसँग २० लाख रुपैयाँ मागेका छौं,' उनले भने, ‘बजेटमा प्राप्त भएन भने स्रोत जुटाउन अन्य विकल्पको खोजी पनि गरिँदै छ।'

हाल उपत्यकाका विभिन्न एफएमसँग मिलेर ‘ट्राफिक अपडेट' कार्यक्रम सञ्चालन गरे पनि त्यो पर्याप्त नभएको ट्राफिकको ठहर छ। ‘व्यस्त हुँदै गएको सहरलाई अब हरेक क्षण ट्राफिक सूचनाबाट अपडेट गराइरहनु आवश्यक छ,' शर्मा भन्छन्, ‘त्यसैले आफ्नै एफएम चलाउने प्रयास अघि बढाइएको हो।'

तत्काललाई बिहानदेखि बेलुकीसम्म चल्ने प्रस्तावित एफएम बिस्तारै चौबिसै घन्टाको बनाउने ट्राफिकको योजना छ। ट्राफिक गतिविधि र सूचनाले नै प्राथमिकता पाउने एफएमले बीच-बीचमा मनोरञ्जनात्मक कार्यक्रम र समाचार पनि दिने शर्माको भनाइ छ।
ट्राफिककेन्द्रित उक्त एफएम लोकप्रिय भए, विदेशमा जस्तो विज्ञापनसमेत आकर्षित गर्न सकिने योजना ट्राफिकको छ। उपत्यकाभर मात्र सुनिने क्षमतामा स्थापना हुने एफएमका निम्ति ट्राफिक प्रहरीसितै भएको जनशक्तिलाई तालिम दिएर तयार पारिने शर्माले बताए।
सम्प्रेषक : प्रकाश पराजुली

Post a Comment

0Comments

Post a Comment (0)