फ्लपी डिस्कको अवसान

0
एक जमाना थियो, जतिबेला फ्लपी डिस्कबिनाको प्रविधिको कल्पना पनि गर्न सकिँदैनथ्यो । अहिले जमाना फेरिएको छ र यो पनि आवश्यक छ भन्ने कुराको कल्पना कसैले पनि गर्दैनन् । केही वर्षअघिसम्म पनि डिस्क ब्यागहरू फ्लपीले भरिएका हुन्थे । मानिसहरू फ्लपीमा आफ्ना सामग्री ओसार्न पाउँदा निकै खुसी देखिन्थे । बिस्तारै पेन ड्राइभलगायतका अन्य स्टोरेज डिभाइसको आगमनसँगै फ्लपी डिस्कको प्रयोगमा कमी आउन थाल्यो । यसले गर्दा यसका उत्पादक कम्पनीहरूले पनि उत्पादन बन्द गर्न थाले । पछिल्लो समयमा जापानको सोनी कम्पनीले आफूले उत्पादन गर्दै आएको ३ दशमलव ५ इन्चको फ्लपी डिस्क अर्को वर्षदेखि उत्पादन नगर्ने घोषणा गरेपछि अन्ततः फ्लपी डिस्कको प्रयोग नै बन्द हुने भएको छ, जससँगै फ्लपी डिस्कको ४२ वर्षे यात्रा समाप्त भएको छ । सोनी नै अहिलेसम्म फ्लपी डिस्क उत्पादन गर्दै आएको अन्तिम कम्पनी थियो ।

इतिहास

फ्लपी डिस्कको उत्पादन आईबीएम कम्पनीमा काम गर्ने इन्जिनियर एलान शुगार्टले गरेका थिए । एलानले एउटा पातलो प्लास्टिक डिस्कको माथि म्याग्नेटिक आइरन अक्साइडको कोटिङ गरेका थिए । उक्त डिस्कको सतहमा डिजिटल अक्षर लेख्न र पढ्न सकिन्थ्यो । डिस्क ८ इन्चको थियो ।

सन् १९७६ मा एलानले उक्त डिस्कलाई अलिकति सानो बनाए । उनले वाङ लेबोरेटरिजका लागि ५ दशमलव २५ इन्चको डिस्क बनाए । यो पहिलेको तुलनामा थप सुविधाजनक थियो र त्यसमा १ दशमलव २ एमबी सम्मको डाटा संग्रहित गर्न सकिन्थ्यो । यही डिस्क नै तीव्र रूपमा लोकप्रिय हुन थाल्यो । सन् १९८१ मा जापानको सोनी कम्पनीले ३ दशमलव ५ इन्चको डिस्क बजारमा ल्याएपछि यसको लोकप्रियता शिखरमा पुग्यो । यसको कभर पनि बाक्लो प्लास्टिकले बनेको थियो । यो बलियो थियो र यसमा संग्रहित डाटा लामो समयसम्म सुरक्षित रहन सक्थे । यसको स्टोरेज क्षमता पनि अरूभन्दा धेरै १ दशमलव ४४ एमबी थियो । ८० को दशकमा यति डाटा संग्रहित गर्नु नै ठूलो कुरा थियो ।

सन् १९९६ सम्म आइपुग्दा फ्लपी डिस्कको बजार निकै गर्माएको थियो । संसारभर ५० करोड डिस्क आइसकेका थिए, तर त्यसपछि यसको बजार बिस्तारै खस्कँदै गयो । बिस्तारै अन्य स्टोरेज डिभाइसहरू आउन थाले । त्यसपछि फ्लपी डिस्कको सट्टामा सीडी, डिभिडी, जीप ड्राइभ तथा युएसबी ड्राइभ आदि प्रयोग हुन थाले । सन् २००९ मा पनि एक करोड फ्लपी डिस्क बिक्री भए । तीमध्ये धेरै जसो भारत र जापानबाट खरिद गरिएका थिए ।
Tags:

Post a Comment

0Comments

Post a Comment (0)