नेपाली च्यानल बढेको वर्ष

0
कृष्ण भट्टराइ !
केही वर्षअघिसम्म नेपाली भाषाका टेलिभिजन च्यानलहरू औंलामा गन्न सकिन्थ्यो । अहिले परिस्थिति बेग्लै छ । वर्ष २०६७ को अन्त्यसम्ममा आइपुग्दा नेपाली च्यानलको संख्या बढेर १५ पुगेको छ । एक दशकअघि सम्म एउटा मात्र सरकारी च्यानल नेपाल टेलिभिजन हेरेर रमाइरहेका नेपाली दर्शकले अब नेपाली च्यानलबीच नै छनौट गर्ने अवसर पाएका छन् । २५ वर्षअघि नेपालमा नेपाली टेलिभिजन च्यानलको अस्तित्व थिएन । २०४२ सालमा नेपाल टे लिभिजन स्थापना भएपछि दर्शकले नेपाली भाषामा सूचना तथा मनोरञ्जन पाउन थालेका हुन् । साढे दुई दशकको अवधिमा अहिले दर्शकले आफ्नो उमेर, रुचि तथा रोजाइअनुसारका नेपाली च्यानलको मज्जा लिन पाएका छन् ।

नेपालमा पहिलो पटक सरकारी प्रयासमा २०४२ पुस १४ मा टेलिभिजनको पहिलो प्रसारण भएको हो । सरकारी स्वामित्वमै भए पनि अहिले पनि राष्ट्रिय टेलिभिजन प्रसारण र व्यावसायिक संस्थाका रूपमा नेपाल टेलिभिजन नै छ । निजी क्षेत्रमा स्पेसटाइम नेटवर्कले २०५८ असार १९ मा पहिलो पटक च्यानल नेपाल सञ्चालनमा ल्याएको हो । त्यसपछि निजी क्षेत्रमा अन्य च्यानलको लहर चल्यो । कान्तिपुर टेलिभिजन तथा इमेज टेलिभिजन २०६० असार २९ देखि प्रसारणमा आएका हुन् । २०६० असोज १० मा मेट्रो टेलिभिजन आयो भने समाचार च्यानलका रुपमा एभेन्युज तथा सगरमाथा २०६४ असार /साउनदेखि देखा परे । हाल नेपाली टेलिभिजन भू-उपग्रहमार्फ विदेशमा पनि पुगेका छन् । कान्तिपुर टेलिभिजनको सिधा प्रसारण यसैवर्षदेखि अमेरिकाका दर्शकले हेर्न पाइसकेका छन् ।

लोडसेडिङको मार

२०६७ सालमा पनि नेपाली टेलिभिजन तथा दर्शकले लोड सेडिङको समस्या झेल्नुपर्‍यो । सुखद नै मान्नुपर्छ, अघिल्लो वर्षको तुलनामा यो वर्ष केही घण्टा कम लोडसेडिङ भैरहेको छ । २०६६ सालको हिउँदमा १८ घण्टासम्म लोडसेडिङ अनुभव गरियो थियो भने यो वर्ष १४ घण्टा मात्र लोडसेडिङ झे ल्नुपर्‍यो । लोडसेडिङका कारण प्रायः सबै टेलिभिजन च्यानलमा विज्ञापनको प्रवाह ह्वात्तै घट्यो । सबै दर्शकले सबै कार्यक्रम हेर्न नपाएपछि कार्यक्रम निर्माताहरूमा पनि उत्साह घट्ने क्रम जारी रह्यो । मनोरञ्जक कार्यक्रमका निर्माता/निर्देश्ाकहरूले दर्शकबाट उचित प्रतिक्रिया पाएनन्, न त दर्शकले कार्यक्रमबाट मनोरञ्जन नै लिन पाए ।

च्यानलको बाढी

नेपालमा अहिले बजारको आवश्यकताभन्दा बढी च्यानल सञ्चालन भैरहेको अनुभव गर्न थालिएको छ । निजी टेलिभिजनमा केका आधारमा लगानी बढे का छन् भन्ने कुराको सही जवाफ कतैबाट पाउन सकिएको छैन । अहिले स्याटेलाइटमार्फत प्रसारण भैरहेका च्यानलको मासिक खर्च करिब ५० लाख रु पैयाँ रहेको अनुमान गरिन्छ । यति धेरै खर्च निजी च्यानलहरूले कसरी धानिरहेका होलान् ? चर्को लोडसेडिङको मारमा आम्दानीको मुख्य श्रोता विज्ञापनको प्रवाह कम भैरहेको अवस्थामा उक्त खर्च कसरी धानिएको होला ? एउटा सर्वेक्षणअनुसार पछिल्लो समयमा नेपालमा टेलिभिजनमा आउने विज्ञापनको बजार वर्षभरिमा ६० देखि ७० करोड रुपैयााको मात्र छ । यसमा करिब ४० प्रतिशत पहुँच नेपाल टेलिभिजनको मात्र छ । सीमित उद्योग, बिजुलीको सीमित पहुाच तथा कटौती, विदेशी च्यानलको सहज उपलब्धता, सानो विज्ञापन बजार, तीव्र तथा अस्वस्थ प्रतिस्पर्धा एवं राजनीतिक अस्थिरता आदि कारणले नेपालमा हालकै शैलीमा बजारमा देखापरेका च्यानलहरू दिगो हुने सम्भावना कम देखिएको छ ।

हास्य श्रृंखलाको लोकपि्रयता

अघिल्लो वर्षझैं यस वर्ष पनि हास्यश्रृंखलाले राम्रै दर्शक पाए । तीतो सत्य, मेरी बास्सै, जीरे खुर्सानी, झ्याइँकुटी झ्याइँ, हर्के हल्दार आदि हास्य श्र ृंखलाले दर्शकलाई मनोरञ्जन दिइरहे । यो वर्ष कान्तिपुर टेलिभिजन तथा तराई टेलिभिजनबाट पनि हास्य श्रृंखलाहरू प्रसारण भए । कान्तिपुरको हर्के हल्दारले तीतो सत्य, मेरी बास्सैसँग राम्रै प्रतिस्पर्धा गर्‍यो, यद्यपि वर्षको उत्तरार्द्धमा लोडसेडिङका अधिकांश हास्यश्रृंखला दर्शकविहीन बने ।

रियालिटी शोको क्रेज

नेपाल टेलिभिजनले प्रसारण गरेका दुई रियालिटी शो 'छमछमी' तथा 'खोजी प्रतिभाको' मा दर्शक सहभागिता उल्लेख्य रह्यो । छमछमीमा नृत्यको मात्र प्रतिस्पर्धा गरियो भने दिनेश डिसीले निर्देश्ान तथा सञ्चालन गरेको 'खोजी प्रतिभाको' मा नृत्यसँगै गायन तथा अभिनयको प्रतिस्पर्धा पनि सञ्चालन भयो । त्यसबाहेक इमेज च्यानलको गिटार मेस्ट्रो, कान्तिपुर टेलिभिजनको ब्यान्ड च्यालेन्ज, तराई टेलिभिजनको वार अफ डिजे तथा लिटिल च्याम्स जस्ता रियालिटी शोले दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

एउटै समय उस्तै कार्यक्रम

कान्तिपुर टेलिभिजनको 'कल कान्तिपुर', इमेज च्यानलको 'म्युजिक अफ योर च्वाइस', तराई टेलिभिजनको हेलो नेपाल, माउन्टेन टिभीको 'म्युजिक अन डायल' आदि कार्यक्रम हरेक साँझ ५ बजेपछि प्रसारण हुन्छन् । यी सबै कार्यक्रममा दर्शकले कार्यक्रम सञ्चालकसँग प्रत्यक्ष कुराकानी गर्दै आफ्नो रो जाइका नेपाली गीतका म्युजिक भिडियो हेर्न पाउँछन् । उस्तै प्रकृतिका यी कार्यक्रममध्ये कल कान्तिपुरको लोकपि्रयता सबैभन्दा बढी रहेको बताइन्छ ।

टेलिभिजनमै नेपाली चलचित्र

गोपिकृष्ण मुभिजले यसै वर्षदेखि सञ्चालन गरेको टेलिभिजन च्यानल टिभी फिल्मीले दैनिक रूपमा नेपाली चलचित्र प्रसारण गर्न थाल्यो । यसअघि ने पाली च्यानलबाट नेपाली चलचित्र नै प्रसारण नहुने गुनासो गरिरहेका दर्शकलाई टिभी फिल्मीले ठूलै राहत दियो । यद्यपि वर्षको उत्तरार्द्धमा आएपछि उक्त च्यानलबाट नेपाली बाहेक भोजपुरी भाषाका चलचित्र पनि प्रसारण हुन थालेको छ । रमाइलो कुरा के छ भने नेपालमा चलचित्रलाई मात्र लक्षित गर्दै यसअघि कुनै पनि च्यानल आएका थिएनन्, टिभी फिल्मीले त्यो अभाव पुरा गरिदियो ।

बढे समाचारमूलक च्यानल

सगरमाथा, एभेन्यूज, एबिसीजस्ता समाचारमूलक च्यानललाई पछ्याउँदै यो वर्ष थप केही समाचारमूलक च्यानल प्रसारणमा आएका छन् । हिमालय टिभी, माउन्टेन टिभी, न्यूज २४ जस्ता च्यानल समाचारमै आधारित छन् ।

म्युजिक भिडियोको निर्माण

जसरी नेपाली च्यानलहरू बढिरहेका छन्, त्यसैगरी म्युजिक भिडियोको निर्माणमा पनि वृद्धि भैरहेको छ । सांगीतिक क्षेत्रमा प्रवेश गर्ने अधिकांश नयाँ गायक-गायिकाहरूले एक-एकवटा म्युजिक भिडियो तयार पार्नु अनिवार्य जस्तै भएको छ । यसबाहेक लोकदोहोरी गीतका लागि पनि अनिवार्य रूपमा म्युजिक भिडियो निर्माण गर्ने टे्रन्ड प्रारम्भ भएपछि म्युजिक भिडियो निर्माण गर्ने संस्था, निर्माता, निर्देश्ाक लाभान्वित भए ।

टेली एवार्ड र विवाद

टेलिभिजन कलाकर्मी मञ्च नेपाल -टाफन) वर्ष २०६७ देखि पहिलो पटक टेलिएवार्ड वितरण गर्न थाल्यो । टेलिभिजनको इतिहासमै पहिलो पटक गत जेठ महिनामा वितरण गरिएको यो एवार्ड विवादमुक्त भने रहेन । एवार्डमा हास्यश्रृंखला तीतो सत्यको वर्चस्व रह्यो । कुल चौध विधामध्ये सात विधामा यसले सफलता हासिल गर्‍यो । तीतो सत्यले उत्कृष्ट हास्यश्रृंखला, बालकलाकार, कथा, संवाद, छायांकन, अभिनेत्री तथा निर्देशकको एवार्ड जित्यो । चे तना मूलक टेलिश्रृंखला 'साल्गीको बलात्कृत आासु' तथा दलनले चार-चारवटा एवार्ड जिते । आफ्नो टेलिश्रृंखलालाई उपयुक्त मनोनयमा समावेश नगरिएको भन्दै हास्यश्रृंखला मेरी बास्सै तथा भुइँचालोले एवार्ड वितरण कार्यक्रम नै बहिष्कार गरे । एवार्डपछि हास्यकलाकार जितु नेपालले जसलाई एवार्ड चाहिएको थियो । उनीहरूले पाएको प्रतिक्रिया दिए ।

डिसीको व्यस्तता

टेलिभिजनकर्मी दिनेश डिसी यो वर्ष पनि सानो पर्दामा व्यस्त रहे । वाईवाई क्विज तथा खोजी प्रतिभाको जस्ता रियालिटी शोका निर्देश्ाक डिसीले हरेक साता एनटिभी प्लसमा पनि कार्यक्रम सञ्चालन गरे । उनले एउटा हास्यश्रृंखलासमेत निर्देश्ान गरे । वर्ष भरिमा झन्डै छ दर्जन स्टेज कार्यक्रम सञ्चालन गरे भने ६ वटा चलचित्रमा अभिनय गरे ।



नेपाली च्यानलहरू

१.नेपाल टेलिभिजन

२.नेपाल टेलिभिजन प्लस

३. कान्तिपुर टेलिभिजन

४. इमेज च्यानल

५. च्यानल नेपाल

६. एबिसी टेलिभिजन

७. सगरमाथा टेलिभिजन

८. एभेन्यूज टेलिभिजन

९. तराई टेलिभिजन

१०. न्यूज २४

११. माउन्टेन टेलिभिजन

१२. नेसनल टेलिभिजन

१३. टिभी फिल्मी

१४. हिमालय टेलिभिजन

१५. नेपाल वान -भारतबाट)

Post a Comment

0Comments

Post a Comment (0)