यो बर्ष जो बढी चर्चामा रहे (२०६७)

0

वर्ष २०६७ मा सबैभन्दा महत्त्व पाएको मृत्यु सन्त नेता कृष्णप्रसाद भट्टराईको हो । नेपाली राजनीतिमा करिब ६० वर्ष सक्रिय एव्ां सादा जीवनका पर्याय बनेका भट्टराईको मृत्युले पाएको चर्चा भ्रष्ट समाजका लागि ठूलो सन्देश थियो । दुई-दुई पटक प्रधानमन्त्री बनेका, करिब दुई दशक नेपाली कांग्रेसको सभापति भएका कृष्णप्रसाद भट्टराईको जम्मा सम्पत्ति भनेको एउटा बाकस, एउटा पानी खाने सुराही र एउटा छातामात्र थियो । प्रधानमन्त्री निवासबाट बाहिर निस्कँदा उनको बस्ने ठाउँ पनि थिएन । विवाह समेत नगरेका भट्टराईका आफन्त पनि सीमित थिए । यद्यपि उनको मृत्युले जति चर्चा पायो, त्यो अतुलनीय थियो । भट्टराईको मृत्युले नेपाली समाजलाई सादगी र नैतिकताको पाठ पढाएको छ । यस अर्थमा वर्ष २०६७ शोकमा पनि सन्देश दिन सक्ने वर्ष सावित भयो ।


वर्षको पूर्वसन्ध्या -२०६६ चैत २७) मा पत्रकार भरत भुर्तेलको अप्रत्याशित आत्महत्याले लेखक जगत् स्तब्ध भयो । झापामा जन्मिएका भुर्तेलको पत्रकारिता जीवन 'विवेचना'बाट प्रारम्भ भएको थियो । यद्यपि उनको परिचय कविका रूपमा पनि २०३४ सालतिरै प्रख्यात भैसकेको थियो । केही वर्ष कानुन व्यवसायी भएर काम गरेका भुर्तेल लामो समय सुरुचि साप्ताहिकमासक्रिय रहे । राष्ट्रपति डा. रामवरण यादवको जीवनीपरक कृति 'टाकुरामा एक्लो मान्छे' का लेखक भुर्तेल कान्तिपुर पब्लिकेसन्सको नेपाल साप्ताहिकका व्यङ्ग्यकार पनि थिए ।

गत वर्ष ऐतिहासिक उपन्यासकार डायमन्डशमशेरको मृत्यु पनि समाजलाई तरंगित बनाउने घटना थियो । सातवटा ऐतिहासिक उपन्यास लेखेका डायमन्डको सबैभन्दा महत्वपूर्ण कृति सेतोबाघ थियो । जंगबहादुर राणाका छोराहरूको जीवन घटनाको रोमाञ्चक वर्णन भएको सेतोबाघ अंग्रेजीलगायत करिब १० भाषामा अनुवाद भएको छ । त्यही एउटा कृतिको रोयल्टीले नै आफूलाई समृद्ध बनाएको राणा बताउँथे । राणाकालमा राणाकै विरोध गरेर जेल परेका डायमन्ड बीपी कोइरालाको निधनअघिसम्म नेपाली कांग्रेसप्रति समर्पित थिए ।

नेपाल सद्भावना पार्टीको नाममा आनन्दीदेवी सबैभन्दा बिकाउ नाम हो । मधेसवादी राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने गजेन्द्रनारायण सिंहको म ृत्युपछि उनकी श्रीमती आनन्ददेवीलाई थपना राखेर धेरै गुट-उपगुटले राजनीति गरे । धेरैले सभासद् एवं मन्त्री पद हासिल गरे । यद्यपि गएको फागुन ३० मा उनको मृत्यु हुँदा तिनै दलका नेता-कार्यकर्ता उपस्थित भएनन् ।

पुराना राजनीतिज्ञ एवं विश्व हिन्दू महासंघका अध्यक्ष भोलानाथ झाको मृत्यु पनि यसै वर्ष भयो । ७८ वषर्ीय झाको मृत्यु विश्व हिन्दँ महासंघको लाहानमा आयोजित एउटा कार्यक्रमबाट फर्किरहेको बेला लड्दा लागेको चोटका कारण भएको हो । उनले पटक-पटक गरेर उद्योग, वन, शिक्षा एवं स्वास्थ्यमन्त्रीको भूमिका निर्वाह गरेका थिए ।

वर्ष २०६७ मा धेरै विधामा संलग्न डा. हृषिकेश उपाध्यायको पनि निधन भयो । उपाध्याय साहित्य, राजनीति, समाजसेवा एवं चिकित्साशास्त्रमा सक्रिय थिए । उनी नेकपा -प्रजातन्त्रवादी) का केन्द्रीय सदस्य थिए । उनीसँग साहित्यिक लेखनको साढे पाँच दशक लामो अनुभव थियो । डा. हृषिकेशका जेठा छोरा अखिलेश उपाध्याय कान्तिपुर पब्लिेकसन्सको अंग्रेजी दैनिक दि काठमाडौं पोस्टका सम्पादक हुन् ।

झापा क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित गौरीशंकर खड्काको गत वर्ष नै निधन भयो । उनी माओवादीभित्र 'राजेन्द्र' का नामले परिचित थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका थिए । झापाको गरामुनी स्थायी घर भएका खड्काले ०३६ सालदेखि राजनीति गर्दै आएका थिए । उनी जनमोर्चाको केन्द्रीय सदस्य हुँदै ०६० सालमा माओवादीको केन्द्रीय सदस्य भएका थ्ािए ।

राजनीतिइतरमा जतिसुकै योगदान गरे पनि नाम नचल्ने रोग पुरानै हो । वर्ष ०६७ मा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने भीमादेवी पाण्डेको निधनले पनि खासै चर्चा पाएन । आफूले पढ्न नपाएको पीडामा २०२२ सालदेखि स्याङ्जास्थित आफ्नै घरमा विद्यालय खोलेर भीमादेवीले शिक्षाको चे तना प्रारम्भ गरिन् । घरमा केटा र केटीका लागि छुट्टै छात्रावास निर्माण गरेकी भीमादेवीको विद्यालयबाट धेरैले उच्च शिक्षाको बाटो खोले ।

महिला अधिकारका क्षेत्रमा गतिलो काम गरेकी शान्ता थपलियाको ७० वर्षको उमेरमा यसै वर्ष निधन भयो । सन् १९९४ मा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा थपलियाको प्रस्तुतिले उनको छवि उज्यालिएको थियो । नेपालमा महिलासम्बन्धी सयभन्दा बढी विभेदकारी कानुन रहेको कुरा उनले उजागर गरेकी थिइन् । पैत्रिक सम्पत्तिमा महिला अधिकार, गर्भपतन, नागरिकता, नीति-निर्माण तहमा महिलाको कम्तिमा एकतिहाइ सहभागिताजस्ता मुद्दामा थपलियाको महत्त्वपूर्ण योगदान छ ।

बि्रटिस सुरक्षा सेवामा लामो समय सेवा गरेका हर्ष बुढामगरको गत वर्ष ८३ वर्षको उमेरमा निधन भयो । उनी मगर परम्परा, इतिहास एवं संस्कृतिका विद्वान् थिए । मगर जातिबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति हर्षका करिब एक दर्जन पुस्तक प्रकाशित छन् ।

अन्तर्राष्ट्रिय खेलकुदमा नेपाललाई चिनाउने पहिलो धावक गंगाबहादुर थापाको ८४ वर्षको उमेरमा निधन भयो । उनी सन् १९६४ मा जापानको टोकियो ओलम्पिकमासहभागी भएका थिए ।

नेपाली साहित्यमा विशिष्ट स्थान राख्ने फणीन्द्रराज खेतालाको ८९ वर्षको उमेरमा निधन भयो । वि.स. १९९४ देखि लेखनमा सक्रिय खेतलाको सम्पादनमा फिलिङ्गो दैनिक पत्रिका निस्कन्थ्यो । उनले जगदम्बाश्रीलगायतका प्रतिष्ठित पुरस्कार प्राप्त गरेका थिए ।

मुटुमा पेसमेकर राखेर करिब २५ वर्ष नेपाली चलचित्रमा सक्रिय शान्ति मास्केको पनि गत वर्ष निधन भयो । चलचित्र सन्तानको एउटा दृश्यमा पुलबाट हामफाल्दा उनको छाती ढुंगामा ठोकिएको थियो । त्यसपछि मुटुसम्बन्धी विभिन्न रोग प्रारम्भ भए पनि उनी सधैं कलाकारितामा सक्रिय रहिन् । शान्तिले ६० वटा ठूला चलचित्र एवं केही भिडियो चलचित्रमा अभिनय गरेकी थिइन् ।

संविधानसभामा नयाँ संविधानबारे आफ्नो भनाइ राखेर घर र्फकंदा गत पुसमा सभासद् डम्बरबहादुर खड्काको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । २०३६ सालपछि राजनीतिमा प्रवेश गरेका डम्बर संखुवासभाका चर्चित युवा नेता थिए ।

नेपाली चित्रकलामा विशिष्ट स्थान बनाएका डीबी चित्रकारको ८२ वर्षको उमेरमा निधन भयो । करिब ५ हजार चित्र बनाएर देश विदेशमा आफ्नो छवि बनाएका डीबीलाई पछिल्ला चित्रकार पनि आदर्श मान्छन् ।

नेपालका पहिलो द्वन्द्व निर्देशक एवं कलाकार गोपाल भुटानीको पनि गत वर्ष निधन भयो । चार वर्षको उमेरमा जन्मस्थान इलाम छाडेर भारत प्रवेश गरेका भुटानीले आफ्ना गुरुको सम्झनामा तामाङ थर हटाएर भुटानी बनाएका थिए । ७८ वर्षको उमेरमा निधन हुँदा उनले अभिनय गरेको चलचित्र संख्या २ सय नाघेको थियो । भारतमा श्रीमती र छोराछोरी हुँदा पनि उनले आफ्नो अधिकांश जीवन एक्लै नेपालमा बिताए । मृत्युका बेला पनि उनी एक्लै थिए ।

Post a Comment

0Comments

Post a Comment (0)