विराटनगर। कृषि प्रधान देशको हविगत यस्तो छ, दुई महिना विदेशबाट तोरी नआएपछि यहाँको तेल उद्योग धमाधम बन्द हुन थालेका छन्।
दुई दशक अघिसम्म तोरीमा आत्मनिर्भर रहेको मुलुक अहिले ९५ प्रतिशत भन्दा बढी विदेशमै निर्भर छ। तोरी उत्पादन हुने तराईँका फाँट केही प्लटिङका कारण क्रंक्रिटमा रुपान्तरण भएका छन् भने कुनै बाँझै छन्। त्यही कारण उद्योग चलाउन विदेशको बाटो ताक्नुपर्छ। नेपालमा भारत, क्यानाडा, युक्रेन र अस्ट्रेलियाबाट तोरी आयात हुन्छ। नेपालमा वार्षिक ५० हजार टनको हाराहारीमा तोरीको तेलको खपत छ।
मुलुकभित्र उत्पादित तोरी साना तेल मिललाई पनि थेग्न हम्मेहम्मे हुन्छ। तोरी नआएपछि विराटनगरका केही उद्योग बन्द भएका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन्। विराटनगर- ४ को श्याम एग्रो प्रोडक्ट इन्डस्ट्रिज तोरी नभएर बन्द भइसकेको छ।
उद्योगका सञ्चालक जीवन रिजालले तोरीको दाना नपाउँदा उद्योग बन्द गर्नुपरेको बताए। यो उद्योगबाट दैनिक १५ टन तोरी पेलेर पाँच टन तेल उत्पादन भइरहेको थियो। सञ्चालक रिजालका अनुसार नेपालका तेल उद्योगले क्यानाडा, युक्रेन र अस्ट्रेलियाबाट तोरी आयात गर्छन् । त्यस्तै भारतको विहार र राजस्थानबाट पनि तोरीको आयात गरिन्छ। कोभिड–१९ को महामारीका कारण समुद्रपार र भारत दुवै ठाउँबाट तोरी आउन कम भएको छ।
‘मजदुर नआएपछि भनेका समयमा तोरी लोड हुँदैन, लोड भएको मालको डकुमेन्ट पनि समयमा बैंकमा आउँदैन,’ रिजालले भने, ‘बैंकबाट छुटाएको डकुमेन्ट समयमा कोलकाता बन्दरगाह पुग्दैन । जताततै डिस्टर्ब मात्र छ। त्यसैले अर्डर गरेको तोरी नआइपुगेर उद्योग बन्द गर्नुपरेको हो।’अर्डर गरेको २५ कन्टेनर तोरी बाटोमा रहेको उनले बताए।
तोरी कोलकातामा रोकियो
विराटनगरको पुरानो तेल उद्योग चन्द्र शिव राइस मिलका सञ्चालक नरेश राठीले पनि आफूसित अब एक हप्तामात्र पुग्ने कच्चा पदार्थ रहेको जानकारी दिए।
नेपाल चामल तेल दाल उत्पादक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका राठीका अनुसार २६ कन्टेनर तोरी कोलकातामा अड्किएको छ। उनको उद्योगले दैनिक १५ टन तोरी प्रशोधन गरिहेको छ। उनले तोरीको पैठारी धेरैजसो एलसीमा नभई डिएपीमा आउने गरेको बताए। डिएपीभन्दा एलसी झन्झटिलो हुने र एलसीमा सबैको लिमिट पनि पनि नपुग्ने भएकाले डिएपीमा आयात हुने गरेको उनको भनाइ छ।
‘कोभिड–१९ पछि तोरीको मूल्य बढ्यो,’ उनले सुनाए, ‘समुद्रपार र भारत दुवै ठाउँको तोरीमा प्रतिकिलो १० रुपैयाँले मूल्य बढ्यो।' प्रतिकिलो ७५ मा आयात भइरहेको तोरी ८५ रुपैयाँ पर्न थालेको छ। 'अर्कातिर नेपालबाट भारततर्फ पिनाको निर्यात बन्द भएको छ,’ उनले थपे, ‘पिनाको निर्यात बन्द भएपछि यसको मूल्यमा पनि ह्रास आएको छ। प्रतिकिलो ४५ रुपैयाँमा बिक्री भइरहेको पिनाको मूल्य ४० भएको छ। अहिले सबै तेल उद्योगका गोदाममा पिना चाङ लगाएर राख्नु परेको छ। अझै दुई महिना निर्यात गर्न पाइएन भने ढुसी परेर फ्याँक्नुपर्ने अवस्था हुन्छ।’
राठीका अनुसार कोरोनाको संक्रमणसँगै भारतको विहार र राजस्थान सरकारले तोरीको बिक्रीमा कर बढाएका छन्। दुवै राज्यले मन्डी कर भन्दै प्रतिकिलो एक रुपैयाँ कर लिन थालेका छन्। त्यस्तै समुद्रपार र भारत दुवैतिर आउने तोरीका लागि ढुवानी दर पनि प्रतिकिलो १ रुपैयाँका दरले वृद्धि भएको छ।
‘यी सबै कारणले अहिले पहिलेकै मूल्यमा तेल बिक्री गर्दा उद्योगलाई घाटा छ,’ उनले भने, ‘हामीले सबै बिल र डकुमेन्ट पेश गरेर जिल्ला प्रशासन कार्यालयमा तेलको मूल्यवृद्धि गर्न अनुमति माग्यौं। तर सिडिओ साबले बरु कारखाना बन्द गर्नूस् तर तेलको मूल्य नबढाउनूस् भन्ने आदेश दिनुभयो। त्यसैले अहिले तेलका उद्योग घाटामा चलिरहेका छन्।’
गुलाब बाग मन्डी बन्द हुँदा समस्या
विराटनगरको जेके आयल मिलका सञ्चालक जितु तापडियाले भारतको विहार राज्यमा रहेको गुलाबबाग भन्ने शहरमा तोरीको ठूलो मन्डी भएको र उक्त मन्डी हाल बन्द भएको जानकारी दिए।
सञ्चालक तापडियाका अनुसार गुलाबबागको मन्डी बन्द भएपछि विहारबाट आउने तोरी ठप्प भएको छ। राजस्थानबाट आइपुग्न झन्झट धेरै छ। तापडियाले विदेशी तोरी पनि आउन ढिला भइरहेको उल्लेख गरे। उनले जनवरी–फरवरीमा विदेशमा उत्पादित तोरी यतिबेला धमाधम आउनुपर्नेमा आउन नसकेको स्पष्ट पारे।
‘पहिले हप्ताको १५ ट्रक तोरी आउँथ्यो, हिजोआज २–३ ट्रकमा सीमित भएको छ,’ उनले भने, ‘यस्तै अवस्था भएमा एक महिनापछि झन् अप्ठ्यारो हुनेछ। उनले दैनिक १५ टन तोरी प्रशोधन गरिरहेको आफ्नो उद्योगमा अब १० दिनका लागिमात्र कच्चा पदार्थ रहेको बताए।
‘सधैं हामी कम्तीमा तीन महिनाको कच्चा पदार्थ मौज्दात राखेर उद्योग चलाउँथ्यौं,’ उनले भने, ‘अहिले हप्ता–दश दिनको हिसाब गरेर बस्नु परेको छ।’
मोरङको बुढीगंगा गाउँपालिकास्थित गृहलक्ष्मी आयल मिलका सञ्चालक मुकेश बोथडाले आफ्नो उद्योग सानो क्षमताको भएकाले तोरीको खासै समस्या नभएको जानकारी दिए। ‘हाम्रो उद्योगलाई दैनिक २ टन तोरी चाहिन्छ,’ उनले भने, ‘अहिलेको महामारीले दैनिक १५–२० टन तोरी चाहिने उद्योगलाई अप्ठ्यारो परेको छ। हामीजस्तो सानो उद्योगलाई खासै गाह्रो छैन।’
उनले पिनाको समस्या भने रहेको बताए। ‘पिना बिक्रीको समस्या साना–ठूला सबै उद्योगलाई समान भएको छ,’ बोथडाले भने, ‘पिनाको मूल्य पनि घटेको छ र भारत निर्यात पनि बन्द भएको छ।’ भारतमा पशुपन्छीका दाना उद्योगले नेपालमा उत्पादित पिना खरिद गर्दै आएका थिए।
--अनन्तराज न्यौपाने