महावीर पुन काेराेना सङ्क्रमितलाई खाना लगिदिने राेबाेट बनाउँदै , आविष्कार केन्द्रले काेराेनाविरुद्ध गर्‍याे यति काम

0

महावीर पुन काेराेना सङ्क्रमितलाई खाना लगिदिने राेबाेट बनाउँदै , आविष्कार केन्द्रले काेराेनाविरुद्ध गर्‍याे यति काम
महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका मान्छेलाई खाना पुर्‍याउने रोबोट बनाउने काम सुरु गरेको छ । 
रामोन म्यागासेसे पुरस्कार बिजेता सामाजिक अभियन्ता पुनले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक उपकरणहरू एकपछि अर्को बनाउने प्रयास गरिरहेका छन् । ‘आइसोलेसन सेन्टरमा रहेका मानिसलाई खाना पुर्याउने रोबोटको नमुनाको पनि विकास गर्ने काम भैरहेको छ’, उनले जानकारी दिए ।
महावीर पुनले दिएको जानकारीअनुसार, कीर्तिपुस्थित राष्ट्रिय आविष्कार केन्द्रमा  कोरोना भाइरस संक्रमणले सिकिस्त भइसकेका बिरामीलाई राखेर जाँच्ने ‘इन्क्युबेसन बाकस’ निर्माणको काम पनि  सुरु गरेको छ । 
पुनले लकडाउन सुरु हुनेबित्तिकै कोरोना संक्रमित बिरामीको उपचार गर्दा डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट (पीपीई)  बनाउने पहल लिएका थिए । अब प्रयोग भइसकेका मास्क र पीपीईलाई किटाणुरहित बनाएर फेरि प्रयोग गर्न ‘यूभी उपचार प्रणाली’ को काम पनि सुरु गरेका छन् । 
पुनले दिएको जनाकारीअनुसार,  साधारण किसिमको नयाँ भेन्टिलेटरले जस्तो काम गर्ने सिस्टमको विकास गरेर परीक्षण गर्ने काम पनि भैरहेको छ.। यी सबै काम पोखरामा रहेका पुनले टेलिफोनमार्फत् संयोजन गरेर गरिरहेका छन् । 
२२५० थान पीपीई वितरण
पुनले आफू नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना रोकथामका लागि गत तीन साताभित्र गरेकाहरूको विवरण पनि ‘फेसबुक’ मार्फत् सार्वजनिक गरेका छन् । विवरण अनुसार, १५ दिनअघि सिलाउन सुरु गरेको पीपीई हालसम्म २२५० थान वितरण गरिसकिएको छ । 
‘अहिलेसम्म नेपालको सातै प्रदेशको ४८ जिल्लाहरुको गाउँपालिका र नगरपालिकामा रहेका १४५ ओटा सरकारी अस्पताल, प्राइभेट अस्पताल, प्राथमिक उपचार केन्द्र, हेल्थपोष्ट, क्वारेन्टाइन सेन्टर आदिमा २,२५० वटा पीपीई वितरण गरियो’, उनले उल्लेख गरेका छन् ।
‘मोबाइलबाट सम्पर्क गरी गाडी नै लिएर पीपीई लिन आविष्कार केन्द्रमा आउनेहरुलाई वितरण गरिँदैछ’, उनले भने, ‘ठूलो अस्पताललाई १५ देखि २५ वटा सम्म, मझयौला अस्पताललाई १० देखि १५ वटा र हेल्थपोस्टहरुलाई पाँच वटा सम्म पीपीई दिइएको छ ।’
पुनले दिएको जानकारी अनुसार, अहिलेसम्म काठमाडौं उपत्यकाभित्रका एम्बुलेन्ससहित बाहिरी जिल्लाबाट काठमान्डू आएका १८५ ओटा एम्बुलेन्सका ड्राईभरहरुलाई पनि पीपीई वितरण गरिएको छ । ईमरजेन्सी रेस्क्युमा काम गर्ने सुरक्षाकर्मीहरुको लागि पनि अनुरोध आएअनुसार पीपीई बाँडेको उनले उल्लेख गरे । 
कोरोना बिरामी जाँच्ने बुथको निर्माण 
पुनले दिएको जानकारीअनुसार, अहिले १६ जिल्लाहरुमा बिभिन्न टीमहरुले कोरोनाका बिरामी जाँच्ने बुथ बनिरहेको छ । सुरुमा काठमाडौं उपत्यकाका तीनवटा बुथ बनाएर जाँच गरिएअनुसार अरु जिल्लामा पनि बनाउन सुरु गरिएको हो । 
त्यस्ता बुथहरु अहिले टिचिंग अस्पताल, बीर अस्पताल, छाउनी सैनिक अस्पताल, भक्तपुर अस्पताल, बाग्लुंग अस्पताल, महेन्द्रनगर अस्पताल, ईटहरी अस्पतालमा राखेर काम सुरु गरिसकेको उनले बताए । 
कोरोनाको आशंका लागेर अस्पतालमा आउने बिरामीहरुलाई जाँच्ने डाक्टरहरुलाई सुरक्षित गराउनको लागी दक्षिण कोरियाले बनाएको जस्तो बुथको नमुनाको आधारमा केहि थप सुधार गरी बुथहरु निर्माण गर्ने काम गरिरहेको उनले जानकारी दिए । 
भेन्टिलेटरहरुको मर्मत 
राष्ट्रिय आविष्कार केन्द्रको आह्वानमा बायोमेडिकल एसोसिएसन र विभिन्न बायोमेडिकल इञ्जिनियरहरुको समूहले सहयोग गरेर काठमाडौंको ट्रमा अस्पतालका आठ र वीर अस्पतालका तीन वटा भेन्टिलेटरहरु मर्मत भएको छ ।
टिचिंग अस्पताल, गंगालाल अस्पताल र कान्ति बाल अस्पतालको भेन्टिलेटरहरुको मर्मत गर्ने काम जारी रहेको पुनले जानकारी दिए ।
आर्थिक व्यवस्थापन 
पुनले राष्ट्रिय आविष्कार केन्द्रले आफ्नै खर्चमा अलिकति पीपीईहरु बनाएर दिने भनेर काम सुरु गरेको तर अहिले सम्म कसैलाई आर्थिक सहयोगको लागी अनुरोध नगरिएको बताएका छन् । पीपीई र बुथहरु पनि पैसा नलिईकन वितरण गरिंदै गरेको उनले जानकारी दिएका छन् ।
‘कसैले आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने राष्ट्रिय आविष्कार केन्द्रको बैंकको खातामा जम्मा गरि दिनुहोला भनेर भनिएको छ’, उनले भने, ‘अहिले सम्म विभिन्न दाताहरुले आविष्कार केन्द्रले गरेको कामहरु देखेर अत्यन्तै खुसी भई मन ज्ञान र स्वेच्छाले रु.१७ लाख ८० हजार आर्थिक दान गरिसक्नुभएको छ ।’
बैंकबाट समयमा नगद निकाल्न नसकेकोले रु.१० लाख सापटी लिएको जानकारी दिँदै पुनले भने, ‘अहिलेसम्म खर्च एएई को लागि रु. २० लाख ८० हजार, बुथको लागि रु.७ लाख र अन्य अनुसन्धानहरुमा रु.२ लाख खर्च भएको छ। आम्दानी र खर्चको विस्तृत विवरण पछि दिइने छ।’
कोरोनाविरोधी अभियानका सहकर्मीहरु 
पुनले दिएको जानकारीअनुसार, राष्ट्रिय आविष्कार केन्द्रले सुरु गरेको अभियानमा अमेरिकन नेपाल मेडिकल फाउन्डेसन, नेपाल बायोमेडिकल एसोसिएसन, नेपाली सेना, बीर अस्पताल, पन्चकन्या उद्योग, गोर्खा इको प्यानल, कवच गार्मेन्ट, रेमण्ड टेलरिंग, फिट वेल गार्मेन्ट, काल ए टेलर, ईमाडोल गार्मेन्टले ठुलो साथ दिई रहेका छन् ।
‘सामान र मान्छे ओसारपसार गर्न बिनापैसा गाडीहरु उपलब्ध गराउने दाताहरु किशोर रिमाल, रबीन्द्र महर्जन, बिष्णु जंग बस्नेत, नेपाल आर्मी, राधेश्याम मल्ल हुनु हुन्छ’, उनले भनेका छन्, ‘राष्ट्रिय आविष्कार केन्द्रमा १४ जना अनुसन्धानकर्ताहरु सहित अन्य धेरै बिज्ञहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन् ।’
साभार : breaknlinks

Post a Comment

0Comments

Post a Comment (0)