...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

मधेसका पहाडसिंहहरू !

Posted on
  • 01 September 2014
  • by
  • Yumesh Pulami
  • in
  • प्रसंग :- ,
  • चेतन अधिकारी
    २०४८ मा जिल्ला शिक्षा समिति झापाले स्थायी शिक्षकका लागि लिएको अन्तर्वार्तामा उनलाई पहिलो प्रश्न सोधियो- तपाईं मधेसमा जन्मिएको मान्छे तर नाम कसरी पहाडसिंह? उनी एकछिन अलमलिए । प्रश्न सोध्नेले नै उनलाई अलि खुकुलो पारिदिए, 'तपाईंका बुवा पहाडमा जागिर खानुहुन्थ्यो र तपाईंपनि उतै जन्मिनुभएको हो ?'


    'हैन सर,'उनले उत्तर दिए ।

    'त्यसो भए नाम कसरी पहाडसिंह त ?' प्रश्न रोकिएन । 

    झापाको दक्षिणी गाउँमा जन्मी-हुर्केका पहाडसिंह राजवंशीको नामलाई लिएर गरिएको पहिलो प्रश्न थिएन त्यो । स्कुलमै छँदादेखि शिक्षक, गाउँले र साथीभाइले यस्तै सोधेर हैरान बनाउँथे । फेरि उनलाई नामको अर्थ पनि थाहा थिएन त्यतिबेला। 'म त उत्तर दिँदा दिँदाहैरान भइसकेको छु,'बैराती प्रावि जुरोपानीका प्रधानअध्यापक पहाडसिंह राजवंशीले भने, 'आज तपाईं फेरि यही प्रश्न लिएर आइपुग्नुभएछ ।'

    दमक गौरीगन्ज सडकको ग्वालडुब्बा गौरीगन्ज खण्डमा एउटा खण्डहर हुँदै गरेको घर छ । राजवंशी शैलीमा बनाइएको उक्त घरमा एकजना खाइलाग्दा वृद्ध छन्, पहाडसिंह राजवंशी। ८४ वर्षम्ाा हिंड्दै गरेका यिनले ७४ वर्षको भएपछि मात्रै पहाडसँग साक्षात्कार गर्न पाए । आफूले कहिल्यै नदेखेको पहाड जोडिएको नामले उनलाई जिन्दगीभर चिनायो ।'खै, बाबु आमाले कसरी राखिदिए,' भर्खरै आँखाको उपचार गरेर आएका पहाडसिंह भन्छन्, 'मधेसमा जन्मिएर पनि पहाडसिंह भनेर चिनिएकोमा खुसी नै लागेको छ ।'

    मौसम उघि्रएको बेला उत्तरतिर डाँडाहरू देखिन्छन् । तिनै डाँडा देखेर रमाउने र आफ्नो जन्मथलो भन्दै बखान गर्नेहरूयिनले धेरै भेटे । आफ्नो नाम जोडिएको पहाडको चर्चा हुँदा यिनी त्यसै खुसी हुन्थे, त्यता नपुगे पनि । 

    अलिकति आफ्नो र अलिकति अर्काको जमिन जोतेर गुजारा गर्ने यी पहाडसिंहलाई आफ्नो नामको कथा खोज्ने न चासो रह्यो, न फुर्सदै नै । हुर्कंदै गएपछि एक दिन उनी दौंतरीसँग हिंडेर दमकबजार आए ।असारको मौसम हुनुपर्छ । झन्डै २२ किलोमिटर उत्तर राजमार्ग छेउमा आएपछि नजिकै डाँडाकाँडा देखिए ।'त्यही डाँडो र आफ्नो ज्यानतिर हेरेर आफैं मख्ख परेँ र पहिलोपटक नजिकैबाट पहाड देख्ने मौका पाएँ,'घरको बलेंसीमा कुर्सीमा बसेर पहाडसिंहले अनुभव सुनाए ।

    '०२०,२१ सालदेखि त पहाडियाहरू भकाभक बसाइ आउन थाले । त्यसपछि त पहाडियै,पहाडिया,'पहाडसिंहले सम्झिए, 'कपियय भर्खर बसाइआएकाहरू त काकाको पहाड कहाँ हो भन्दै सोध्थे ।' कहाँ भनुन्उनले ?

    हेडसर पहाडसिंह चाहिं २०३५ सालमा एसएलसी परीक्षा दिएपछि लागे पहाड हेर्न । एकहूल साथीसँग उक्लिएका उनलाई सबैले जिस्क्याइरहेका थिए, 'पहाडसिंह पहाड आयो,पहाडसिंह पहाड आयो... ।' झापाको चारालीबाट उकालो लागेपछि त पहाड त झन् नजिक झन् नजिक । यिनले पनि बसाइसरेर आएकाहरूबाट पहाडको बयान सुनेका थिए । 'पहाड देख्न पाउँदा यति खुसी भएँ कि,' उनले भने 'फिक्कल पुगेपछि त खलाँसीलाई झुक्याएर गाडीको छतमा बसेर धित मरुन्जेल पहाडका डाँडाकाँडा हेरें ।'

    राजवंशी, ताजपुरिया जातिमा अधिकांशको नाम जन्मबारका आधारमा राखिन्छ । जस्तै आइतसिंह,सोमालु,मंगलु आदि । कतिपयको घटना विशेषलाई आधार बनाएर नाम राखिन्छ । जस्तै हड्तालका दिन जन्मेको हड्ताली,बाढी आएको दिन जन्मेकोलाई बढुवा,भूकम्प आएको दिनकालाई भुइँतालु। ती सबैको अर्थ पनि लाग्छ । तर कहिल्यै पहाड नपुगेकाको नाम कसरी पहाडसिंह ?फेरि यस्तो नाम गरेकाहरू एक-दुईजना हैन्ा, टोलैपिच्छे छन् ।

    नेपाल टेलिकम दमकमाअर्का एकजना सवारीचालक छन्, पहाडसिंह ताजपुरिया हुन् । पाँचगाछी-९ का २९ वर्षका यी युवाले एकझमट नाम परिवर्तन गर्न खोजे । जनआदर्श मावि शिवगन्जमा पढ्दा साथीहरूले उनलाई नामकै कारणधेरै जिस्क्याए । कक्षा ४ मा पढ्दाको घटना हो-प्रश्नको उत्तर दिन नसकेपछि एक दिन गणित पढाउने सरले 'पहाडको सिङ'भनिदिए, त्यसपछि के चाहियो र साथीहरूलाई ! आफूलाई पहाडसिङ भनेर जिस्क्याउनेलाई उनले पनि मधेससिंह भन्न्ा थाले । बिस्तारै उनले नाम लिनासाथ हाँस्नेहरूको जमात बढ्दै गयो । अनि एकदिन स्कुलबाट गएर आमालाई प्रस्ताव राखे, मेरो नाम फेरिदिनु । आमाले 'बाबुलाई भन्न' भनिन् । बाबुले जन्मदर्ता भइसकेकाले फेर्न मिल्दैन भने । 'त्यसदिनदेखि मैले आफ्नो नाममा गर्व गर्न थालें,' उनले सुनाए,'तर पनि कहिलेकाहीं मेलाबजारमा भेट भएका केटीहरूसँग परिचय गर्दा नाम अनौठो मान्दै कानेखुसी गरिहाल्छन् ।'

    यिनको नाम कसरी रह्यो त पहाडसिंह ? बाबु देवीप्रसादका अनुसार २०४१ साल वैशाख ११ गते बिहानैदेखि श्रीमतीलाई सुत्केरी बेथाले चाप्यो । केही गरे पनि नानी जन्मिएन । उनले सधैंका झाँक्री महादेव ताजपुरिया गुहारे । महादेवले माथि चुरे पहाडमा एउटा बुटी छ खोजेर ल्याउन भनेर पठाए । 'त्यो बुटी खुवाएको केही बेरमै छोरो जन्मियो । पहाडबाट ल्याएको बुटीले औषधिको काम गरेको हुनाले छोराको नाम पहाडसिंह राखें,' देवीप्रसादले हाँस्दै सुनाए ।

    पातलो ज्यानका यी पहाडसिंहलाई नामअनुसारको ज्यान नभएको हीनताबोधचाहिँ छ ।'नाम सुनेका सबैले मान्छे ज्यांगो होला भनेर सोचेका हुन्छन् तर खियाउटे देखेपछि ए नाम मात्र पो पहाडसिंह रहेछ भन्छन्,' गाडीको स्टेरिङ समाउँदै उनले भने, 'अबचाहिँ जीमखाना गएर बडेमानको ज्यान बनाएर नामसँगको तालमेल मिलाउने विचार गर्दैछु ।'

    दक्षिण झापाकै अर्को गाविस कोहबरा-५ मा एकजना स्थानीय कांग्रेस नेता छन् पहाडसिंह ताजपुरिया । पहाडबाट मधेसमा बसाइ झर्नेको लर्को लागेका बेला आफ्नो जन्म भएकाले बाबुआमाले पहाडसिंह नाम राखिदिएको उनी सम्झन्छन् । कोहबरा-३ मा अर्का पहाडिसा ताजपुरिया छन् । उनको बोलाउने नाम पहाडिया हो । जन्मँदा बाबु गोरो भएकाले छरछिमेकीले पहाडिसानाम राखेको हुनसक्ने छोरा वीरमानको अनुमान छ । छिमेकीका अनुसारचाहिँ पहाडिसा जन्मेको बेलामा एकहूल पहाडियाहरू रतुवा बगरमा भैंसी चराउन जाँदै थिए । 'जन्मने बेलामा पहाडियाहरू देखिएकाले पहाडिसा नाम राखेको होला,' स्थानीय बोलो राजवंशीले भने, 'हाम्राे जातिमा नाम राख्नेबारेमा कुनै टुंगो हुँदैन ।'

    यस्तो नामलाई कतिपयले पहाड-तराई मिलनकोसंज्ञा दिएका छन् ।'मधेस र पहाडको बीचमा अहिले भइरहेको द्वन्द्व घटाउन मेरोजस्तो नामले मद्दत गर्छ,'हेडसर पहाडसिंहको भनाइ छ, 'अब पहाडिया समुदायका दाजुभाइहरूले पनि मधेसप्रसाद वा तराईबहादुर नाम राख्नुभयो भने हाम्राे सम्बन्ध अझ प्रगाढ बन्दैजान्छ ।'

    कोहबरा-३ मा अर्का पहाडसिङ छन् । उनी जन्मिएको दिन बाबु पहाडबाट झरेका एक किसानको खेत जोत्दै थिए । आमा धान रोप्दै थिइन् ।सबैले हाहु गरे 'पहाडे,पहाडे ।' पछि त्यही पहाडेलाई पहाडसिंह बनाइयो । मधेसका भित्री-भित्री कुनामा यस्ता पहाडसिंहहरू प्रशस्तै छन् । बालुबाडीका पहाडसिंह ताजपुरिया हुन् वा शिवगन्ज रंगेथानका पहाडसिंह राजवंशी । उनीहरूको यस्तो नाम रहनुमा कहीं न कहीं पहाडबाट बसाइ सराइ,पहाडी संस्कृति वा पहाडी जडीबुटी कारण जोडिएका छन् ।

    ताजपुरिया कल्याण परिषद्का संस्थापक अध्यक्ष नित्यानन्द ताजपुरियाका अनुसार केरापातलाई चोखोनितो मान्ने राजवंशी र ताजपुरियाहरू पहिला पहिला केराको पात लिन चुरे पहाडतिर जान्थे । विवाह,पर्वमा केराको पात लिन पहाड गएका बेला कसैको जन्म भएमा उसको नाम पहाडसिंह राखिने गरेको थियो ।'खासगरी घटना,बार र महिनालाई आधार मानेर नाम राख्ने चलन हाम्रो संस्कृति हो,' उनले भने, 'त्यस्तै कोही मोटोघाटो बच्चा जन्मिए वा उसको आफन्त कोही पहाडतिर गएको भए बालकको नाम पहाडसिंह राखिन्थ्यो ।'

    Source : eKantipur.com 

    1 प्रतिक्रियाहरु:

    Adams Kevin said...

    I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    Post a Comment