...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

कर्मक्षेत्रमा १०

Posted on
  • 24 June 2011
  • by
  • Yumesh Pulami
  • in
  • प्रसंग :- , ,
  • केही समय महिलाहरूलाई समाजको संचरनाले पारिवारिक चौघेराभित्र बस्न बाध्य बनायो, संस्कार तथा परम्पराले  विकासको मार्गमा लम्कनबाट रोक्यो । समयसँगै महिलाहरू त्यो चौघेरालाई तोडेर पहिचान प्राप्तिका लागि लड्न थाले, आफूलाई हरेक क्षेत्रमा स्थापित गर्न थाले तैपनि उनीहरूको कार्यको उतिविधि वास्ता गरिएन । त्यति हुँदाहुँदै पनि उनीहरूको मनोबल कत्ति डगमगाएन, उनीहरू अविराम संघर्षरत रहे।


    अमहिलाहरूको आन्दोलनले केही मात्रामा भए पनि परिवर्तन ल्याएको छ भन्ने कुरामा सायद दुईमत नहोला । उनीहरूको अदम्य साहस तथा मेहनतका बारेमा पनि धेरै बखान गर्नुपर्ने आवश्यकता छैन किनभने ती सबै कुरालाई उनीहरूले व्यवहारबाटै साबित गरिसकेका छन् । महिलाहरूको हृदय कोमल हुन्छ तर यत्तिकैले उनीहरूभित्रको साहस लुक्न सक्दैन किनभने उनीहरू एकातिर कोमलताका प्रतिमूर्ति हुन् भने अर्कातिर पहाडझैं दृढ इच्छाशक्ति एवं सामथ्र्यका संवाहक पनि हुन् ।

    केही समय महिलाहरूलाई समाजको संचरनाले पारिवारिक चौघेराभित्र बस्न बाध्य बनायो, संस्कार तथा परम्पराले विकासको मार्गमा लम्कनबाट रोक्यो । समयसँगै महिलाहरू त्यो चौघेरालाई तोडेर पहिचान प्राप्तिका लागि लड्न थाले, आफूलाई हरेक क्षेत्रमा स्थापित गर्न थाले । तैपनि उनीहरूको कार्यको उतिविधि वास्ता गरिएन । त्यति हुँदाहुँदै पनि उनीहरूको मनोबल कत्ति डगमगाएन, उनीहरू अविराम संघर्षरत रहे । उनीहरूको संघर्षको कथा सुन्दा र हेर्दा सबैलाई नतमस्तक हुन करै लाग्छ । ती आँटिला महिलाहरूले पुरुषहरूको एकाधिकार तोड्दै कठिन तथा चुनौतीपूर्ण  काममा हात हालेर जुन लोभलाग्दो सफलता आत्मसात् गरे त्यो अनुकरणीय छ । महिलाहरूको त्यही अग्रगामी फड्कोलाई नारीले यो अंकमा समेट्ने प्रयास गरेको छ । प्रतिकूल परिस्थितिमा पनि असाधारण धैर्य प्रदर्शन गरी इतिहासमा नाम राख्न पहल गर्ने महिलाहरूलाई हाम्रो सलाम ।
     विज्ञानको खोजमा

    निशा राणा बस्नेत,  वरिष्ठ वैज्ञानिक अधिकृत 


     निशा राणा हरेक बिहान वासस्थान मन्डिखाटारबाट कर्मथलो नास्ट पुग्छिन् । विज्ञान संकाय लिएर पढ्नेहरूले चिकित्सक नै बन्नुपर्छ भन्ने कुरा उनी मान्दिनन् । उनी विज्ञान पढेर विभिन्न क्षेत्रमा संलग्न भएर काम गर्न सकिने बताउँछिन् । सन् १९९३ मा वायो केमेस्ट्री अध्ययनका लागि पुना जाँदा धेरैले उनलाई किन मेडिकल नपढेर अरू विषय पढेकी भनेर प्रश्न तेस्र्याएका थिए । त्यसको उत्तर दिन उनले समयलाई कुरिन् । अहिले महिला वैज्ञानिकका रूपमा सबैतिर उनको प्रशंसा हुने गरेको छ । यद्यपि यो काम अरूजस्तो सजिलो छैन । कुनै पनि कामको परिणामका लागि वर्षौं कुर्नुपर्छ । निशा भन्छिन्-'परिणामका लागि हतारिनेहरू यो क्षेत्रमा नआए पनि हुन्छ ।' निशाको कार्यकालमा उनको समूहले सुन्तलामा हुने एक प्रकारको रोग जाँच्ने विधि स्थापित गर्‍यो । राणा भन्छिन्-'रहरले यो पेसा छानेकी हुँ । त्यसैले मलाई हरेक दिन नयाँ लाग्छ तर पनि हरेक कुराका लागि बाहिरी देशमा निर्भर रहनुपर्ने हुँदा काम गर्न निकै अप्ठ्यारो छ । परिश्रम गर्दागर्दै पनि कहिलेकाहीँ नकारात्मक परिणाम आउँछ । त्यसमा फेरि परिश्रम गर्नुपर्छ । काममा एकाग्रता चाहिन्छ । कुनै प्रकारको तनाव भयो भने काम गर्न असजिलो हुन्छ । राणा भन्छिन्-हाम्रो कामको प्रतिफल ढिलो आउँछ र कहिले दोहोर्‍याएर काम गर्नुपर्ने हुन्छ । सधैं आफूलाई अप टु डेट राख्नु यो क्षेत्रको सबैभन्दा ठूलो चुनौती हो । केही चुनौतीका साथ परिश्रम गर्नुपरे पनि कुनै शोधमा सफल भएर देशलाई केही दिन सकूँ भन्ने सपना छ ।

    वनमै छ मन

     आफूलाई हजुरबुवा  प्रथम महालेखा परीक्षक बि्रगेडियर जर्नेल चन्द्रबहादुर थापाको पदचापमा हिँडाउन पाएकोमा माधुरी कार्की थापा निकै खुसी छिन् । उनी नेपालकै प्रथम जिल्ला वन अधिकृत हुन् । हाल उनी वन विभाग योजना तथा अनुगमन महाशाखामा तथ्यांकलाई संकलन गर्ने एवं विभिन्न प्रोजेक्टको डेक्स अफिसरको भूमिका निर्वाह गरिरहेकी छिन् । माधुरीले आपmनो कार्यकालमा विभिन्न रमाइला-नरमाइला अनुभव संगालेकी छिन् । वातावरणीय शास्त्रमा स्नातकोत्तर माधुरी जिल्ला वन अधिकृत भएर भक्तपुर पुग्दा कतिपयले अचम्म मानेको घटना सम्झदा उनलाई आज पनि रमाइलो लाग्छ । जिल्ला वन अधिकृत भएर भक्तपुरमा बस्दा तेलकोटको वन हस्तान्तरणको विषयमा उनले धेरै दुःख भोग्नुपरेको थियो । लामो समयसम्म आफ्नो अडानमा रहेर अन्त्यमा उनी आर्मीको तारो हान्ने क्षेत्रलाई सामुदायिक वन बनाउन सफल भइन् । त्यसैगरी माधुरी यसलाई आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि मान्छिन् । यो क्षेत्रमा लागेर उनको वाककला, अडानप्रति अडिग रहने र नेतृत्व क्षमतामा विकास भएको बताउँदै माधुरी भन्छिन्-'काम गर्दा वन-वन जानुपर्ने हुन्छ । धम्कीको सामना पनि गर्नुपर्छ । हरेक समय चलाख भएर काम गर्नुपर्छ । सानो गल्तीले पनि ठूलो रूप लिने सम्भावना रहन्छ । यो काम महिलाका लागि चुनौतीपूर्ण भए पनि रुचि भएका महिला दिदी-बहिनीहरूलाई अवसर दिनुपर्छ ।' परिवार तथा कार्यस्थलको व्यवस्थापन कामकाजी महिलाहरूको सबैभन्दा ठूलो चुनौती मान्ने माधुरी भन्छिन्-'सुरुमा त अप्ठ्यारो भएको थियो तर अहिले अवस्था सामान्य भएको छ ।'

    आरोहणमा अग्रणी माया शेर्पा, आरोही

     अ.क्सिजन माक्स लगाउँदै १० देखि १५ केजीसम्मको भारी बोकेर हिउँसँग लड्दै-पड्दै हिमाल आरोहण गर्नु पक्कै पनि चानचुने कुरा होइन । ओखलढुङ्गा पात्ले गा.वि.स. रिपाल गाउँमा जन्मिएकी मायालाई सानैदेखि केही अलग काम गर्छुजस्तो लागेको थियो । बुवा टे्रकिङ गाइड भएकाले मायाले महिला आरोही आएका बेला गाइड बन्ने अवसर पाइन् । गाइडको काम गर्दागर्दै उनी हिमाल आरोहणतर्फ आकषिर्त भइन् । सन् २००३ मा ६ हजार ८ सय मिटर अग्लो आमादब्लम हिमालबाट आरोहण सुरु गरेकी मायाले त्यसपछि ७ हजार, ८ हजार मिटर अग्ला अन्य हिमाल चढ्दै सन् २००६ मा पहिलो पटक सगरमाथा चढेकी हुन् । त्यसको अर्काे वर्ष नै उनले तिब्बततर्फको मोहडाबाट सगरमाथा आरोहण गरिन् । सगरमाथा आरोही १०-१२ जना नेपाली महिलामध्ये माया सगरमाथाका साथमा अन्य धेरै हिमाल चढ्ने महिलामा गनिन्छिन् । शेर्पा भन्छिन्—'प्रयास गर्दै जाँदा सफलता हात लाग्यो । यद्यपि महिनौं दिनसम्म निरन्तर हिँड्नु चानचुने कुरा होइन । मौसमले साथ नदिए हिउँ, हुरी-बतास आदिका कारण एकदमै गार्‍हो हुन्छ । त्यतिबेला किन यस्तो काममा हात हालेछु जस्तो लाग्छ तर सफलता पाएपछि सारा दुःख-कष्ट बिर्सेर फेरि त्यहीँ जान मन लाग्छ ।' विवाहपछि मात्र सगरमाथा आरोहण सुरु गरेकी मायाले सगरमाथा आरोही नेदरल्यान्ड निवासी आर्नेर कोस्टरसँग लगनगाँठो कसेकी छिन् । तीन पटक सगरमाथा आरोहण गरिसकेका श्रीमान्को सहयोगले नै आफूमा साहस बढेको उनी बताउँछिन् । मनमा केही गर्ने आँट र प्रयास जारी रह्यो भने जे काम पनि सजिलै गर्न सकिन्छ भन्ने उदाहरण बनेकी माया भन्छिन्-'हिमाल आरोहण गर्न जाँदा महिलाहरूलाई शारीरिक एवं महिनावारीको समस्याले सताउँछ । मसित एउटै प्याडमा पूरा दिन हिँडेको अनुभव पनि छ । बेस क्याम्पसम्म खाना बनाउने कुकको व्यवस्था भए पनि त्यसभन्दा माथि गएपछि साथमा लगिएका ड्राई फुड, चकलेट र सुपको भरमा बस्नुपर्छ । हिउँ पगालेर सुप बनाउँदै खाने र हिउँ खनेर टेन्ट हाली ओछ्यान बनाइन्छ । यद्यपि चुचुरोमा पुगेपछि एउटा छुट्टै आनन्द प्राप्त हुन्छ ।'

     हेभी इक्युपमेन्टसमा मुना घिमिरे श्रेष्ठ, डोजर चालक
     तनहुँको आबुखैरेनीमा सामान्य परिवारमा जन्मिएकी मुना परिवारकी जेठी छोरी हुन् ।  उनमा सानैदेखि केही नयाँ काम गर्नुपर्छ भन्ने धारणा थियो । मुना बाल्यावस्थामा घर नजिकको मस्र्याङ्दी जलविद्युत् आयोजनास्थलमा डोजर चलाएको हेर्न जान्थिन् । मुना भन्छिन्-'म मनमनै यस्त सवारीसाधन चलाउन पाए कस्तो हुन्थ्यो भनेर सोच्थें ।' साधारण लेखपढ मात्र गरेकी मुनाले केही समय लामा स्वदेश निर्माण सेवामा कम्प्युटरसम्बन्धी काम गरिन् जहाँ डोजरदेखि हरेक खालका हेभी इक्विपमेन्ट उपलब्ध थिए । मेसिनप्रति मुनाको रुचि देखेर कम्पनी धनीले उनलाई डोजर चलाउन सिक्ने व्यवस्था मिलाइदिए । उनले सिकेको ६ महिनापछि त्यहीँ डोजर चलाउन थालेकी हुन् । सुरु-सुरुमा सानो कदकी मुनाले हेभी डोजर चलाएको देखेर धेरैले आश्चर्य माने । प्रारम्भिक चरणमा उनले शारीरिकभन्दा पनि मानसिक तनाव बढी बेहोरिन् तर पनि रुचिको काम भएको हुनाले उनले सबै चुनौतीहरूलाई पाखा लगाइन् । मुना भन्छिन्- 'डोजर चलाउँदा कहिले माथिबाट आएर पुर्ने हो कि, तलतिर र्झने हो कि भन्ने डर हुन्छ । एकपटक मेलम्ची खानेपानी आयोजनामा काम गर्दा मेसिन चिप्लेर झन्डै मरिएन ।' १३ वर्षअघिदेखि डोजर चलाउन थालेकी मुनाले तीन वर्ष भारतको गुजराँतमा पनि डोजर चलाइन् । भारतमा पनि डोजर चलाउने महिला थिएनन् । त्यसैले उनको काम देखेर गुजराँत सरकारले मुनालाई सम्मान प्रदान गरेको थियो । नेपालमा भने उनले लाइसेन्स लिन धेरै संघर्ष गर्नुपर्‍यो । डोजर चलाउन पचहत्तरै जिल्ला पुगिसकेकी मुनाले अहिले आफै डोजर किनेकी छिन् । उनले श्रीमान् सूर्य श्रेष्ठ तथा साथी वसन्ती गुरुङलाई पनि डोजर चलाउन सिकाएकी छिन् । मुना भन्छिन्-'कुनै महिला डोजर सिक्न चाहनुहुन्छ भने सिकाउन तयार छु, तर अगाडि बढ्न खोज्नेले कहिल्यै पछाडि र्फकेर हेर्नु हुँदैन ।'
    भविष्यवाणीमा

    रति जोशी श्रेष्ठ, ज्योतिषी

     न्यूरोडस्थित श्रेष्ठ भवनको पाँचौं तल्लामा ज्योतिष परामर्श सेवा सदनमा ज्योतिषी रतिदेवी चिना लेख्दै, हेर्दै र त्यहाँ आएकाहरूलाई सुझाव दिँदै दिन बिताइरहेकी छिन् । रतिदेवी सानैदेखि पुख्र्यौली पेसा ज्योतिषमा रुचि लिन्थिन् । आमाले सानैदेखि २७ नक्षत्र एवं १२ राशि कण्ठ गर्न लगाउँदा उनको यो रुचि अझ बढ्दै गयो । अर्थशास्त्र र नेवारी भाषामा एम.ए. गरेकी रतिले ज्योतिष विषयमा शास्त्री उत्तीर्ण गरेकी छिन् । यसका अतिरिक्त उनले धेरै गुरुसँग सिकेको ज्ञानलाई स्वाध्ययनबाट तिखारेकी छिन् । ज्योतिषी महिलाहरू अझ बढ्नुपर्छ भन्ने मान्यता राख्ने रति भन्छिन्- प्रायः चिना देखाउन वा लेखाउन आउनेहरूमा महिला नै अगाडि हुन्छन् । त्यसैले पनि महिला ज्योतिषी बढ्नुपर्छ । ज्योतिष कामबाट पूर्ण सन्तुष्टि मिलेको बताउने रति पूजाआजालाई पनि विशेष महत्त्व दिन्छिन् । नराम्रो चिना भएकाहरूलाई पनि सकारात्मक सोच दिएर पठाउन पाउँदा उनी खुसी छिन् । जोशी भन्छिन्—'कसैकसैले भने महिला ज्योतिषीले लेखेको चिना पनि मिल्ला र भन्छन् तर पछि तिनै व्यक्ति पुनः फर्केर चिना लेखाउन र देखाउन आउँछन् ।' विश्व महिला ज्योतिष संघकी सदस्य, दक्षिण एसियाली ज्योतिष महासंघकी कोषाध्यक्ष तथा राष्ट्रिय ज्योतिष परिषद्मा संलग्न जोशीले महिलालाई ज्योतिषीहरूको संख्या बढ्नुपर्छ भन्ने हेतुले आफै अध्यक्ष भै राष्ट्रिय महिला ज्योतिष संघ पनि खोलेकी छिन् । राष्ट्रिय वाणिज्य बैंकमा अधिकृत तहबाट अवकाश प्राप्त श्रेष्ठले बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव बटुलेकी छिन् । अवकाशपछिको जीवन आनन्दले फुर्सदमा बस्ने बेलामा पनि उनी अझैं जागरुक भएर विभिन्न पत्रपत्रिकामा लेख-रचना एवं राशिफल लेख्ने काममा सक्रिय छिन् । काँधमा जिम्मेवारी, मनमा समझदारी, हृदयमा इमान्दारी भन्दै श्रेष्ठ आफ्नो काममा निरन्तर लागिपरेकी छिन् ।      
    फलामसँग पौंठेजोरी

    तारा पुन, भारोत्तोलन खेलाडी

     खेल क्षेत्रमा लिङ्ग भेद खासै हुँदैन भन्ने कुरा महिलाहरूको विविध खेलमा बढ्दै गएको सहभागिताले स्पष्ट पार्छ । म्याग्दीमा जन्मिएकी तारा पुनले आफ्नो खेल जीवनको सुरुका दिनमा आफूलाई भलिबलतर्फ डोर्‍याइन् । केही समय भलिबल खेलेपछि उनी भारोत्तोलनमा सहभागी भइन् । अहिलेसम्म उनले राष्ट्रिय स्तरका चारवटा प्रतियोगितामा भाग लिइसकेकी छिन् । उनको खेल महिलाहरूको शारीरिक संरचनाअनुसार निकै चुनौतीपूर्ण छ । महिलाहरूले गर्‍हौं चीज उठाउँदा पाठेघरको समस्या उत्पन्न हुने डर हुन्छ । सुरुका दिनमा २० केजीसम्मको रिङ उठाउने पुन अहिले १ सय ५० केजीसम्म उचाल्छिन् । तारा भन्छिन्-'यो खेलमा पर्याप्त डाइट आवश्यक हुन्छ । आफ्नो कमाइको ठूलो भाग डाइटमा खर्च गर्नुपर्छ । म पुलिस क्लबबाट खेल्ने भएकीले त्यति समस्या आउँदैन तर बाहिर भएको भए निकै समस्या हुन्थ्यो । रिङ उचाल्दा घाउ-चोट लाग्छन्, हातको छाला जान्छ । पहिले डर लागे पनि अहिले बानी परिसक्यो । चुनौतीपूर्ण भए पनि यो एउटा एडभेन्चरस खेल हो । तारा भन्छिन्-धैर्य भएकाहरूले मात्र यसमा निरन्तरता दिन सक्छन् । तालिम लिएर नखेल्नेहरू पनि धेरै छन् । यसमा रिक्स फ्याक्टर बढी हुन्छ । सुरुका दिनमा तालिम लिँदा गुरुहरूमा पनि मैले एक प्रकारको द्विविधा अनुभव गरेकी थिएँ तर अहिले उहाँहरूको त्यो द्विविधा हटिसकेको अनुभव गरेकी छु । तारालाई अहिले आपmनो बल बढ्दै गएकोमा अचम्म लाग्छ । तारा भन्छिन्-'सुरुका दिनमा त निकै कठिन भयो तर मनमा एक प्रकारको आत्मविश्वास थियो, त्यसैले खेल्न छोडिनँ ।' पुनले यो खेलमा लागेर थुपै्र अनुभव बटुलेकी छिन् । महिलाहरू हरेक खेलमा अघि आउने उनको विश्वास छ ।

    स्टन्ट र एक्सन

    शर्मिला श्रेष्ठ, एक्सन नायिका

     आँखाभरी आँसु बोकेर सँुक्कसुँक्क गर्दै एउटी आमनारीको प्रतिमूर्तिलाई चरितार्थ गर्ने वा छोटो स्कर्ट लगाएर नायकसँग प्रेमगीतमा नृत्य गर्ने नायिकाहरूभन्दा पर खुँडा, बन्दुुक,  नाइनस्टिक, खुकुरी, तरबार आदि हातहतियार बोकेर द्वन्द्व गर्ने एक्सन नायिका शर्मिलाले यो क्षेत्रमा आफूलाई फरक रूपमा प्रस्तुत गर्न खोजेकी छिन् । बाल्यकालदेखि नै एक्सनमा रुचि राख्ने शर्मिला आफूलाई एक्सन तथा स्टन्टमा पोख्त बनाउँदै यो क्षेत्रमा आएकी हुन् । काठमाडांैमा जन्मिएकी शर्मिलाले हालसम्म ६ वटा चलचित्रमा स्टन्ट तथा फाइट गरिसकेकी छिन् । यो पृथक् क्षेत्रलाई आफ्नै रहरले छानेकी शर्मिलाको कामको धेरैले मजाक उडाए पनि उनले हिम्मत हारिनन् । उनी जसरी भए पनि आफूलाई स्थापित गर्ने प्रयासमा लागिपरिन् । अहिलेसम्मको अनुभवलाई उनी रमाइलो यात्रा भन्न मन पराउँछिन् । शर्मिला भन्छिन्—'नयाँ विधामा आउनु पहिले परिवारलाई विश्वासमा लिन कठिन भए पनि पछि सबै ठीक भयो ।' समयअनुसार अपटुडेट गर्दै गएकी शर्मिला मार्शल आर्ट, कराँते आदिको नियमित अभ्यास गर्छिन् । अभ्यासले नै अभिनय तथा उनको एक्सन कलामा जीवन्तता प्रदान गर्छ । कहिलेकाहीँ चोट पनि लाग्छ तर त्यसलाई उनी सामान्य मान्छिन् । शर्मिला भन्छिन्-'यो दुनियाँ भनेकै हल्लाको दुनियाँ हो । आफूले सही रूपमा काम गर्दा पनि थुपै्र आक्षेप सहनुपर्छ जुन यो क्षेत्रको ठूलो चुनौती हो । शर्मिलाका अनुसार-कामअनुरूप प्रतिफल नपाउनु यो क्षेत्रको अर्को कमजोरी हो तर पनि परिश्रमपूर्वक आफूमा निखार ल्याउँदै जाँदा एकदिन आफ्नो लक्ष्यमा पुग्न कसो नसकिएला ?'

    मेसिनमा चल्छन् कोमल हात

    तारादेवी तण्डुकार, मेकानिक्स

     बाल्यकालमा निकै चुलबुले पाटनकी तारादेवीले ठूलो भएपछि के बन्ने भन्ने सोचेकी थिइनन् । १७ वर्षकै उमेरमा विवाह भएपछि उनी घर-व्यवहारमा तानिइन् । आपmना दौंतरीहरू चिरिच्याँट्ट परेर आनन्दपूर्वक घुमेको देख्दा पनि त्यतातिर नलोभिई श्रीमान्को मोटरसाइकल वर्कसपमा सघाउँदै काम सिकेकी तारा २१ वर्षदेखि पुतलीसडकस्थित टिएस मोटरसाइकल वर्कसपमा कार्यरत छिन् । सुरुमा श्रीमान्लाई साथ दिने क्रममा उनले वर्कसपको सरसफाइ, टि्वनिङ आदि गरिन् । काम गर्दै जाँदा उनले सर्भिसिङसम्बन्धी ए टु जेड अनुभव सँगालिन् । निकै दुःख गरेर काममा पोख्त भएकी तारादेवी भन्छिन्-'सुरु-सुरुमा महिलाले पनि यस्तो काम गर्छन् भनेर हेय भावले हेर्थे तर मैले त्यसको वास्ता गरिनँ । हातमा सीप भएपछि काम गरेर खान किन डराउने ?' वर्कसपमा मोटरसाइकल लिएर आउनेहरू उनले वाइक मर्मत गरेको देखेर अचम्म मान्छन् अनि तपाईंले बनाउन सक्नुहुन्छ ? बिग्रने त होइन ? भनेर प्रश्न पनि गर्छन् । जे पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेर वर्कसप वर्करका रूपमा जीवन बिताइरहेकी तारादेवी भन्छिन्-'कतिपय ग्राहक भाउजू, तपाईंले नै मेरो बाइक सर्भिसिङ गरिदिनुपर्‍यो भन्दै आउँछन् ।' सायद महिला वर्कर भएरै होला, उनको वर्कसप अरू वर्कसपभन्दा चिटिक्क र सफा देखिन्छ । अहिले पनि यो क्षेत्रमा त्यति महिला आउन नसकेकामा उनी दुःख व्यक्त गर्छिन् । यो क्षेत्र कमाइका हिसाबले राम्रो भएकाले यस्ता काममा महिलाहरूको सहभागिता अझ बढ्नुपर्ने  धारणा व्यक्त गर्दै तण्डुकार भन्छिन्-'महिला हुन् वा पुरुष गरे के सम्भव हुँदैन र ?'
    रोमान्च र चूनौतीहरुका बीच मैना धिताल

    जिल्ला ब्युरो प्रमुख, कान्तिपुर पब्लिकेसन्स
     स्नातकोत्तर गरेकी मैनाले बाल्यकालमा पत्रकार बन्छु भन्ने सोचेकी पनि थिइनन् । आज सबैले उनलाई सफल आर्थिक पत्रकारका रूपमा चिन्छन् । मैना भन्छिन्-'मैले पत्रकारितामा स्थापित हुन धेरैआरोह-अवरोह खेपेकी छु । जटिल परिस्थितिमा पनि आफूलाई सम्हालेर चुनौतीहरूसित पौंठेजोरी खेलेकी छु ।'

    लमजुङमा जन्मिएकी मैना धिताल हाल कान्तिपुरमा जिल्ला ब्युरो चिफको जिम्मेवारी बहन गरिरहेकी छिन् । एनपीआईको तालिम लिएर कान्तिपुर आएपछि उनले पछाडि फर्केर हेर्नुपरेन । जिल्लाबाट काठमाडौं आएकी मैना सुरुका दिनमा केही समय बुधबार साप्ताहिकमा इन्टर्नका रूपमा पत्रकारिता सुरू गरिन् । त्यसपछि बिजिनेस म्यानेजर पत्रिकामा काम सुरु गरिन् । पत्रकारिता उनको विषय होइन तर पनि समय, परिस्थितिअनुसार निरन्तर परिश्रम गर्दै जाँदा उनी एक सशक्त पत्रकार भइन् । मैनाले पहिले कान्तिपुरमा बिजनेस बिटमा कलम चलाइन् । त्यसपछि केही समय महिलाका मुद्दामा लेखिन् र पुनः आर्थिक बीटमै फर्किन् ।

    मैना भन्छिन्-यो पेसाका सकारात्मक एवं नकारात्मक दुवै पक्ष छन् । राम्रो लेखले लोकपि्रय बनाउँछ भने सानो गल्तीले पनि लामो समयसम्म प्रभाव पार्छ । ९९ प्रतिशत राम्रोभन्दा १ प्रतिशत नराम्रोले करियरमा असर पुर्‍याउँछ । यो हरेक क्षण रोमाञ्च दिने पेसा हो । पत्रकारितामा लागेपछि हरेक समय तयारीमा बस्नुपर्छ । समय-समयमा धम्की आउँछन् ।  कहिलेकाहीँ स्रोतहरू खोज्न कठिन हुन्छ । यसमा आफूले गरेको परिश्रमको फल लामो समयपछि आउँछ । त्यसैले धैर्यको बाँध बलियो बनाउनुपर्छ । मैनाको अनुभवमा दीर्घकालीन सोच बनाइएन भने कामलाई निरन्तरता दिन सकिँदैन । चाँडै पैसा कमाउन चाहनेहरू यो पेसामा टिक्न सक्दैनन् । जसलाई नाम प्यारो छ उनीहरू नै यो पेसामा रमाउन  सक्छन् ।

     सधैं जागरुक

    चन्द्रकला क्षेत्री-भगवती, क्यामरापर्सन 


     आन्दोलनमा सिंहदरबारअगाडि भएको भिडन्तमा उनले थचक्क बसेर आफूलाई बचाएकी थिइन् । चन्द्रकलालाई त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ । थुपै्र पटक आन्दोलनमा जाँदा उनले लठ्ठीको मार पनि सहनुपरेको छ । यति हुँदाहुँदै पनि उनी चुनौतीपूर्ण यात्रालाई यथावत् राख्दै जुनसुकै कार्यक्रममा क्यामेरा बोक्न हौसिन्छिन् । गुल्मीमा जन्मिएकी चन्द्रकलाको फोटोग्राफीको यात्रा नेपाल टेलिभिजनबाट सुरु भएको हो । आर.आर. क्याम्पसबाट स्नातक उनी अचेल भगवतीका नामले चिनिन्छिन् । करिब छ वर्षको फोटोग्राफी यात्रामा उनले धेरै कुरा सिक्न तथा अनुभव गर्न पाएकी छिन् । अब उनी कुनै बन्द, आन्दोलन, पानी, हावा-हुरीबाट बिचलित हुन्नन् । भगवती भन्छिन्-'संचार माध्यममा काम गर्न त्यति सजिलो छैन । अहिले निकै प्रतिस्पर्धा छ । जब आफूले कैद गरेको चित्रको प्रशंसा सुनिन्छ अनि सबै दुःख बिर्सिन्छ ।' नयाँ काम थालनी गर्दा चुनौती त हुन्छ तर त्यसलाई समयअनुसार परिमार्जन गर्नुपर्ने उनी बताउँछिन् । समय आफ्नो हातमा नहुनु एउटा मुख्य चुनौती हो । आफूलाई दिइएको काममा जान सक्दिन भन्न मिल्दैन । संसद् बसेको बेला एकपटक उनी बिहान ४ बजे घर पुगेकी थिइन् । यो अनुभवलाई उनी कहिल्यै बिर्सन सक्दिनन् । भगवती भन्छिन्-'जुनसुकै बेला पनि क्रियाशील हुनु नै यो पेसाको सबैभन्दा ठूलो चुनौती हो । धेरै उभिँदा ढाड दुख्ने समस्या देखा पर्छ तर पनि यही पेसाले गर्दा गुल्मीकी चन्द्रकलालाई आज सबैले चिन्छन् ।'

    चोमोलुङ्मा चढ्ने चेलीहरू
     संसारकै अग्लो हिमचुचुरो चोमोलुङ्मा अर्थात् सगरमाथा -८,८४८ मिटर) हाम्रो आफ्नै देश नेपालमा भएर पनि नेपाली चेलीहरूले त्यसमाथि विजय प्राप्त गर्ने काम भने धेरै ढिलो प्रारम्भ भयो । सगरमाथा चढ्ने प्रथम नेपाली चेली पासाङ ल्हामु शेर्पा हुन् । उनी चौथो प्रयासमा सन् १९९३ अपि्रल २२ का दिन सगरमाथाको शिर चुम्न सफल भएकी थिइन् । दुर्भाग्यवश पासाङ ल्हामुले उक्त सफलताको अनुभव नेपालीहरूमाझ साट्न नपाउँदै शिखरबाट र्फकने क्रममा हिमआँधीका कारण देह त्याग गरिन् । उनलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका सरदार सोनाम छिरिङको त अझसम्म अत्तोपत्तो छैन । तथापि पासाङको सफलता बाट नेपालकै हिमालमाथि नेपाली महिलाले विजय पाउन नसकिरहेको अवस्थामा एउटा नयाँ कीर्तिमानको जग खडा भयो । वास्तवमा उनी त्यस्ती वीरांगना थिइन्, जसलाई नेपाल र नेपालीको शिर कसरी संसारसामु उँचो राख्ने भन्ने भावनाले सताइरहन्थ्यो । त्यसअघि पहिलो पटक सगरमाथा चढ्ने महिलाका रूपमा जापानकी जुन्को ताबेईले आफ्नो नाम लेखाइसकेकी थिइन् । उनले सन् १९७५, मे १६ मा सफलतापूर्वक सगरमाथाको शिर चुमेकी थिइन् ।

     पासाङ ल्हामुले सफलता पाएको ८ वर्षपछि सन् २००० मा बल्ल संखुवासभाकी लाक्पा शेर्पा दोस्री नेपाली चेलीका रूपमा सगरमाथामा चढ्ने कार्यमा सफल भइन् । त्यस्तै सगरमाथामा चढ्ने तेस्री नेपाली चेली थिइन्, सोलुखुम्बु जिल्ला, नाम्चे बजारकी पेम्बाडोमा शेर्पा । उनले तिब्बततर्फबाट सगरमाथा चढ्ने प्रथम महिलाका रूपमा पनि नाम राखिन् । त्यसपछि मिङकिपा शेर्पा सगरमाथा चढ्न सफल संसारकै कान्छी महिला बनिन् । उनलाई संसारकै कान्छी महिला आरोहीका रूपमा प्रचार गरिए पनि नेपाल सरकार, पर्यटन मन्त्रालयद्वारा प्रकाशित 'माउन्टेनियरिङ इन नेपालः फ्याक्ट एण्ड फिगर्स' मा भने मिङकिपाको नाम कान्छी आरोहीका रूपमा दर्ता गरिएको छैन । बरु उत्तरी मोहडाबाट चढ्ने चारजना नेपाली महिलाको सूचीमा उनको नाम छ । त्यस्तै लाक्पा शेर्पाले तिब्बततर्फबाट पनि दुईपटक सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेकी छिन् । चारपटक सगरमाथा आरोहण गरेर हालसम्म सबैभन्दा धेरै पटक सगरमाथा चुम्ने विश्वकै एक मात्र महिला हुन सफल भएकी छिन्-लाक्पा शेर्पा ।

    उता मोनी मुलेपतिले प्रथम नेवार महिलाका रूपमा सन् २००५ मा चोमोलुङ्माको  शिर छोइन् तथा शिखरमै विवाहसमेत गरेर नयाा विश्व कीर्तिमान कायम गरिन् । यता नेपाली चेलीहरूमा सगरमाथामा चढ्ने होडसँगै संख्यात्मक वृद्धि पनि भयो । यसै क्रममा सन् २००८ मा सुस्मिता मास्केको नेतृत्वमा समावेशी सगरमाथा आरोहण दल खडा गरेर एकै सिजनमा १० जना नेपाली चेली सगरमाथा आरोहण गर्न सफल भए । त्यसपछि उनीहरू त्यस्तै प्रकृतिको दल खडा गरेर विश्वका सबै महादेशका अग्ला शिखरहरूमाथि विजय झण्डा फराउने अभियानमा लागे । समावेशी महिला सगरमाथा आरोहण दलमा गुरुङ, दनुवार, शेर्पा, क्षेत्री, नेवार आदि महिला सहभागी थिए । यसरी सगरमाथा चढ्ने नेपाली चेलीहरूको संख्यामा वृद्धि हुँदै गएको छ जसलाई सकारात्मक मान्न सकिन्छ ।

    नेपालमा रहेका विभिन्न आदिवासी जनजातिमध्ये किराँत समुदायभित्रको लिम्बू जातिबाट पहिलो पटक सगरमाथा चढ्ने चेलीका रूपमा सन् २००९ मे १९ मा तेह्रथुम जिल्लाको आङबुङ गाविस-९ की जुनिता लिम्बूले आफ्नो नाम दर्ता गराइन् । संसारकै अग्लो हिम चुचुरो सगरमाथा सफलतापूर्वक चुम्ने नेपाली महिलाहरूको संख्या डेढ दर्जनको हाराहारीमा  छ ।

    हिमाल आरोहण महँगो खेल भएकाले नेपाली महिला पर्वतारोहीहरूको संख्या अपेक्षित रूपमा बढ्न सकेको देखिँदैन । त्यसमाथि नेपालका हिमाल चढ्न लाग्ने सलामी दस्तुर अन्य देशको दाँजोमा अत्यन्तै महँगो छ । तैपनि नेपाल सरकारले हाल नेपाली आरोहीहरूलाई निवेदनका आधारमा सलामी दस्तुर मिनाहा गर्दै आएको छ । यद्यपि यो कुरा सर्वप्रथम सगरमाथा चढ्ने पासाङ ल्हामु शेर्पाको हकमा भने लागू भएको थिएन । सगरमाथा चढ्ने नेपाली चेलीहरूमध्ये पासाङ ल्हामु शेर्पा र पेम्बाडोमा शेर्पाको निधन भैसकेको छ ।

    कुनै पनि हिमशिखर आरोहण गर्दा लगाइने लत्ताकपडा, जुत्ता, पन्जा, ज्याकेट, चस्मा आदि सामग्रीहरू अचाक्ली महँगा हुन्छन् । त्यसमाथि क्लाइम्बिङ शेर्पालगायत अन्य स्टाफ, सम्पर्क अधिकृत आदिलाई साथमा लानुपर्ने हुन्छ । उनीहरूका लागि पनि छुट्टै रकमको जोहो गर्नुपर्छ । यति हुँदाहुँदै पनि के आशा गर्न सकिन्छ भने भविष्यमा सगरमाथा चढ्ने नेपाली चेलीहरूको संख्यामा अझ वृद्धि हुनेछ ।

    Via : नारी !

    0 प्रतिक्रियाहरु:

    Post a Comment