
उक्त स्थानमा आदिवासी जनाजातिहरुको बर्षौंदेखिको चिहानलाई व्यवस्थापन गरि सो स्थानमा आदिवासीहरुको नाममा आधुनिक रङ्गशाला निर्माण हुने भएको हो ।

सो क्षेत्रमा चिहान बनाइएका मृतकका स्मृतिमा आधुनिक पार्क निर्माण गरिने र बाँकी स्थानमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला र खेलकुद भिलेज निर्माण गरिन लागेको हो । त्यसको लागि अहिले पूर्वाधार निर्माण शुरु भैसेकेको छ । स्वीमिङ पुल सहितको सो खेलकुद भिलेजमा फुटवल, क्रिकेट, टेनिसका साथै इन्डोर गेमका लागि आधुनिक भवनहरु निर्माण गरिन लागिएको निर्माण समितिका अध्यक्ष सन्तकुमार बान्तवाले जानकारी दिनुभयो । सो स्थानमा आदिवासीहरुको समाधीस्थल रहेको हुनाले उनीहरुको सम्मानस्वरुप रंगशालाको नाम पनि आदिवासी रंगशाला राखिनुका साथै स्मृति पार्क पनि बनाईने उहाँले बताउनुभयो ।
करिव २ बर्ष लामो छलफलपछि सो स्थानमा खेलकुद भिलेज बनाउन सहमति भएको हो । सशस्त्र प्रहरी बलले सो क्षेत्रको स्वामित्व पाएपछि त्यहाँका समाधीहरु हटाउनको लागि पटक पटक प्रंयास गरे पनि असफल भएको थियो । जातिय संस्था र सशस्त्र प्रहरी कार्यदलबीच दजनौं पटकको छलफलपछि आदिवासी जनजातिहरुलाई समाधिको स्थलको लागि सो स्थानमा पूर्वतर्फ रहेको रतुवामाई बृक्षारोपण क्षेत्रको करिब डेढसय हेक्टर जग्गा उपलव्ध गराउने र सो स्थानमा आधुनिक रंगशाला बनाउने तथा मृतकको स्मृतिमा पार्क निर्माण गरिने कुरामा दुवै पक्ष सहमत भएका थिए । त्यसको व्यवस्थापनको लागि जातिय संस्थाहरु, निर्माण व्यावसायी संघ, उद्योग वाणिज्य संघ, खेलकुद विकास समिति सम्मिलित व्यवस्थापन समिति गठन गरि प्रक्रिया अगाडि बढाइएको समितिका महासचिव धिरेन लावतीले बताउनुभयो ।
खेलकुद भिलेज र स्मृति पार्क निर्माणको लागि करिव १९ करोड रूपैंया बढिको बजेट अनुमानित गरिएको पाथिभरा प्रहरी गणका प्रमुख एसपी रामकृष्ण लामा बताउनुहुन्छ । उहाँका अनुसार सरकारले पहिलो चरणको लागि आर्थिक बर्ष ०६७/६८ मा एक करोड बजेट छुट्याएको थियो । सोही बजेट अनुसार अहिले ९७ लाख रूपैंया बरावरको टेण्डर लागि निर्माण कार्य शुरु भैसकेको छ । पहिलो चरणका लागि आएको सो बजेटले स्मृती पार्क निर्माण, मैदान सम्याउने र रिटनिङ वाल निर्माण हुने एसपी लामाले जनाकारी दिनुभयो ।
करिव ३० बर्ष अघिदेखि रतुवामाई बृक्षारोपण क्षेत्रको अधिनस्थ रहेको सो जग्गा अहिले सशस्त्र प्रहरी बल पाथिभरा गणको क्षेत्राधिकारभित्र पर्दछ । सो स्थानलाई त्यस क्षेत्रका आदिवासी जनजातिहरुले समाधीस्थलको रुपमा प्रयोग गर्दै आएका थिए ।
सम्प्रेषक : वेदनाथ !Via : पुर्वेली टाइम्स ! दिपेन- फोटो – टिकाराम!