हिँड्दैछ, पाइला मेट्दैछ !

0
उग्रवामपन्थमा विश्वास गर्दैनौं, कार्यकर्ता र मित्रहरू हाम्रो पार्टीलाई प्रचण्डको पञ्जाबाट बचाऔं, जो अध्यक्ष झलनाथ खनालको काँधमा बन्दुक राखेर हामीलाई नै हानिरहेका छन् । साहसी

बनौं । जो साहसी छ, संसार उनीहरूकै हो !' एमाले पोलिटब्युरो सदस्य प्रदीप नेपालले आफ्नो फेसबुकमा बिहीबार साँझ लेखेको स्टाटस हो यो ।

पार्टी निर्णयविपरीत गृह मन्त्रालय माओवादीलाई दिएपछि नेपालले प्रधानमन्त्री तथा अध्यक्ष झलनाथ खनालप्रति यसरी आक्रोश सार्वजनिक गरेका हुन् ।

खनालको पछिल्लो कार्यशैलीबाट नेपाल मात्र होइन, अन्य नेताको पनि आक्रोशको पारो उत्तिकै चुलिएको छ । त्यसको प्रत्यक्ष स्वरूप बिहीबारको एमाले पोलिटब्युरो बैठकमा पनि झल्कियो । झन्डै एक दर्जन नेताले आफ्नो धारणा राख्ने क्रममा कसैले पनि खनालको कामको प्रशंसा गरेनन् । बरु एकलकाँटे र मनोमानी ढंगले चल्न खोजेको भन्दै विशेष महाधिवेशनको माग, स्पष्टीकरण र अनुशासनको प्रश्नसमेत उठाए ।

वरिष्ठ नेता माधवकुमार नेपालदेखि महासचिव ईश्वर पोखरेलसम्मले गृह मन्त्रालय माओवादीलाई दिएको विषयमा विरोध जनाए । उनीहरूले पार्टीले अध्यक्षको निर्णयको स्वामित्व नलिने भन्दै यसलाई अनुमोदन गराएर देखाउन चुनौतीसमेत दिए ।

खनालले पार्टीभित्र छलफलै नगरी यसअघिको निर्णयविपरीत गृह माओवादीलाई सुम्पेका हुन् । पार्टी केन्द्रीय र स्थायी समितिले शान्ति प्रक्रियामा विश्वासिलो आधार नहुन्जेल माओवादीलाई गृह मन्त्रालय नदिने निर्णय गरेको थियो ।

खनालको यो निर्णय मात्र पार्टीभित्र विवादमा परेको होइन । उनी प्रधानमन्त्री भएपछिका हरेक गतिविधिमा पार्टीभित्रैबाट विरोध हुँदै आएको छ । यसका पछाडि खनालको आफ्नै कार्यशैली जिम्मेवार रहेको नेताहरू बताउँछन् । भनेका कुरा पन्छाउँदै जाने, काम अल्झाइरहने र पार्टीभित्र छलफलभन्दा आफंै निर्णय गर्न तम्सिने उनका साझा शैली हुन् ।

प्रधानमन्त्री हुने बेलामा खनालले पार्टीभित्र छलफल नगरी माओवादीसँग गोप्य रूपमा सातबुँदे सहमति गरे । सरकारविहीनताबाट मुलुकलाई निकास दिन र शान्ति संविधानलाई पूर्णता दिन भन्दै सातबुँदे सहमति गरेको तर्क उनले गरेका थिए । तर यो निर्णयबारे पछि खनालले प्रक्रियागत त्रुटि भएको भन्दै आत्मालोचना गरे । प्रधानमन्त्री भएपछि यो विवादले झन्डै एक महिना त्यत्तिकै समय खेर गयो । केन्द्रीय समितिसम्म पुगेर सातबँुदे सहमतिको विवाद एक हदसम्म सल्टियो । फेरि पार्टीबाट मन्त्री पठाउने विषयलाई लिएर खनालमाथि प्रश्न उठ््यो । मन्त्री छनोट गर्ने स्थायी समितिले दिएको अधिकार प्रयोग गरी आफूले चयन गरेको दाबी खनालले गर्दै आएका छन् । 'स्थायी समितिले गरेको निर्णयकै आधारमा अध्यक्षले मन्त्री छनोट गर्नुभएको हो,' सचिव युवराज ज्ञवालीले भने, 'स्थायी समितिले उहाँलाई नै जिम्मा दिएको थियो ।'

नेपाल-ओली पक्ष भने यो मान्न तयार छैन । ओलीले त बैठकको निर्णयविपरीत खनालले माइन्युट तयार गरेको दाबी गर्दै आएका छन् । विवादकै बीचमा खनाल आफैंले तयार गरेको सूचीमा पुनः अर्को विवाद थपियो ।

अर्थ राज्यमन्त्रीमा ल्हारक्याल लामालाई उनले मन्त्री बनाए । दोहोरो नागरिकता र पासपोर्ट कान्ड बाहिर आएपछि लामालाई १० दिनभित्रै हटाउनुपर्‍यो । लामा प्रकरणका कारण दुई साता झन्डै सम्पूर्ण ध्यान त्यतै केन्दि्रत भयो । फेरि अहिले गृह मन्त्रालय माओवादीलाई दिएको विवाद ब्युँतिएको छ । खनालले पोलिटब्युरो बैठक बस्ने अघिल्लो दिन साँझ बुधबार मात्र हतारमा गृह माओवादीलाई दिने निर्णय गरेका थिए ।

गृह दिनैपर्ने भए किन एक दिन पछिको बैठक पर्खिएनन् भन्ने धेरै नेताले प्रश्न उठाएका छन् । 'पार्टीको बैठक पर्खेको भए गृह दिने निर्णय हुन सक्ने अवस्था थिएन,' खनालनिकट एक नेताले भने, 'त्यही भएर पहिले निर्णय गरांै, बैठक पछि फेस गरौंला भन्ने निष्कर्षमा पुग्नुभएको हो ।' गृह नदिए माओवादीले सरकारबाट बाहिरिने संकेत दिएपछि खनालले गठबन्धन जोगाउन पार्टीमा जोखिम मोलेका हुन् ।

गृह दिई हाल्नुको पछाडि अर्को कारण पनि छ । यो बेलामा गृह दिँदा विवाद धेरै लामो समय रहँदैन भन्ने बुझाइले काम गरेको छ । किनभने मन्त्रालय विवादभन्दा जेठ १४ सम्ममा संविधान शान्ति प्रक्रियाको काम के हुन्छ भन्ने बहसमा बढी केन्दि्रत हुनुपर्ने समय छ । पार्टीभित्र दुई दिन विरोध भयो, शुक्रबार उनी टर्की गए । अब सात दिनपछि फर्केर आउँदा गृहभन्दा शान्ति र संविधानको भविष्यको बहसमा मुलुक केन्दि्रत हुनेछ ।

'मन्त्रालय कसले पायो, मन्त्री को बनेभन्दा पनि शान्ति र संविधानको मूल काम जेठ १४ सम्म कहाँ पुग्ने हो, यो बेला त्यसमा ध्यान दिने हो,' एमाले पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेले भने, 'शान्ति र संविधानको काम जेठ १४ सम्म अघि बढेन भने अनि चाहिँ प्रधानमन्त्री सफल कि असफल भन्ने निक्र्योल गर्नुपर्छ ।'

प्रधानमन्त्री निर्वाचित भएलगत्तै खनालले केही दिनभित्रै सरकार र शान्ति प्रक्रियामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने दाबी गरेका थिए । तर उनको कायैशैलीमा सुस्तता

छ । गणितीय हिसाबमा खनालले संसद्भित्र सरकारको पोजिसन बलियो त बनाउँदै लगेका छन् तर काममा रफ्तार र पार्टीभित्रैको सन्तुलन मिलाउने नसक्ने कार्यशैलीले उनी पटक-पटक समस्यामा पर्ने शृंखला दोहोरिन सक्छन् ।
प्रकाशित : कान्तिपुर दैनिक !
बैशाख २३
साभार : नेपाल जापान डट कम
सम्प्रेसक : प्रकाश पराजुली
Tags:

Post a Comment

0Comments

Post a Comment (0)