शरणार्थी क्याम्पमा कोरोना फैलियो भने ?

0

संसारभर ३ करोड १० लाख बालबालिका घरबाहिर


सर, म कपनबाट रोहिंग्या शरणार्थी आलम । हामी त खानै नपाएर मर्ने भयौँ । २ दिन भइसक्यो भोकै भएको । क्याम्पमा पानी पनि छैन । नानीहरू रोइरहेका छन् ।’ 
गत आइबार एकाबिहानै नचिनेको नम्बरबाट तीन, चारपटक फोन आयो । उठाइनँ । साँढे सात बजेतिर पुनः त्यही नम्बरबाट फोन आएपछि रिसिभ गरेँ । त्यसपछि भएको कुराकानी हो यो । म्यानमारी लबजमा यति भनिसक्दा नसक्दै उनको आवाज मलिनो भइसकेको थियो । उनलाई विश्वस्त पार्न सक्ने कुनै उत्तर थिएन, मसँग । मात्र उनको व्यथा सुनिरहेँ । 
यतिवेला मुलुक लकडाउन छ । पसल बन्द छन् । गाडी गुडेका छैनन् । कलकारखाना बन्द छन् । प्लेन एयरपोर्टमै थन्किएका छन् । आलमको आवाज कानमा गुन्जिरह्यो । केही समयअघि रिपोर्टिङका क्रममा कपनस्थित रोहिंग्या शरणार्थीको क्याम्पमा पुग्दा उनीसँग भेट भएको थियो । 
अहिले दैनिक मजदुरी गरेर खाने आलमसहित साढे तीन सय रोहिंग्या शरणार्थी लकडाउनका कारण क्याम्पभित्रै थुनिएका छन् । शरणार्थीसम्बन्धी मामिला हेर्ने संयुक्त राष्ट्र संघको निकाय युएनएचसिआरको काठमाडौंमा रहेको कार्यालयमा उनीहरूले पटक–पटक गाँसवासको माग राखेका थिए । कार्यालयबाहिर कैयन्पटक धर्ना दिएका थिए । युएनएचसिआरले नहेरेपछि दैनिक ज्यालामा काम गर्न थालेको उनीहरूको भनाइ थियो । 
खानका लागि केही पनि जगेडा थिएन उनीहरूको । आलमले भने, ‘पैसा हुनेहरूले पो आपत्विपत् पर्छ भनेर सामान किनेर राखे होलान् । हाम्रो त केही थिएन । हरेक दिन कमाएको पैसा खानै ठिक्क हुन्थ्यो ।’
०००
देश लकडाउन भइसकेपछि दिनभरि कमाइ गरेर बेलुका हातमुख जोर्नेहरूको अवस्था कस्तो होला ? रिक्सा, ठेलागाढा चलाउनेहरू हिजोआज कस्तो सपना देख्दै होलान् ?
डालोमा दुईवटा चाउचाउ, केही थान चुरोट, पराग र चुइगम बेच्नेहरूले जिन्दगीलाई कसरी बुझ्दै होलान् ?
शरणार्थीले कस्तो जिन्दगीको कल्पना गर्दै होलान् ? आफ्नो देशबाट धपाइएका र अरूको देशमा आएर शरण लिएकाहरूको हविगत कहालीलाग्दो छ । रोहिंग्या शरणार्थी आलम मसिनो स्वरमा भन्छन्, ‘हाम्रो त केही पनि छैन । होला भन्ने आशा पनि छैन । अरू वेला मागेर खाएका छैनौँ, काम गरेकै छौँ । अहिले त धेरै गाह्रो भएको छ । यस्तो आपत्मा पनि गुनासो राख्ने ठाउँ छैन हाम्रो । गुनासो पनि कोसँग पोख्नु ? हाम्रो दर्द कसलाई सुनाउनु ?’
०००
शरणार्थी क्याम्पमा सेल्फ क्वारेन्टाइन बस्ने, साबुनपानीले वेला–वेला हात धोइरहने, शक्तिबर्धक खानेकुरा खाने, सामाजिक दूरी कायम राख्नेजस्ता उपदेशहरू एक्काइसौँ शताब्दीको भयानक जोक्सजस्तै लाग्छ । जसलाई आफूजस्तोको देशले लखेटेर दूर बनाएको छ, उनीहरूसँग अब कस्तो सामाजिक दूरीको कुरा गर्ने ? विश्व स्वास्थ्य संगठनले दिएको सन्देश उनीहरूको झुप्रोसम्म आइपुग्दैन । देशले ठोकेको गोलीको दाग मेटिएको छैन । विरानो भूमिमा सहनुपरेको अपमान ओइलाएकै छैन । अब फेरि अर्को विपत् आइलागेको छ कोराना । क्याम्प त्रसित छ, उनीहरू भन्दै छन् ‘कोरोना सल्कियो भने !?’
०००
शरणार्थी क्याम्पहरूमा कोरोना फैलन सक्ने सम्भावनाबारे अन्तर्राष्ट्रिय पत्रपत्रिकाले निरन्तर समाचार लेखिरहेका छन् । ‘न्युयोर्क टाइम्स’, ‘द गार्जियन’, ‘अलजजिरा’जस्ता मिडियाले त्यसप्रति बारम्बार रिपोर्टिङ गरिरहेका छन् । शरणार्थी क्याम्पलाई कोरोना पस्न सक्ने भन्दै उनीहरूले सचेत गराइरहेका छन् ।
आफ्नो देश छाडेर भाग्न बाध्य भएका करोडौँ शरणार्थी यतिवेला कोरोनाको उच्च जोखिममा छन् । क्याम्पमा सामाजिक दूरीको नियम लागू हुन्न । हात धुन साबुन र पानी दुवै छैन । उनीहरू भन्दै छन्, ‘क्याम्पमा कोरोना पसे मर्नुको विकल्प छैन ।’
केही दिनअघि ‘न्युयोर्क टाइम्स’का लागि हन्ना बिच र बेन हर्बार्डले शरणार्थी क्याम्पलाई संसारकै सबैभन्दा संवेदनशील क्षेत्र भन्दै कोरोना जतिवेला पनि फैलन सक्ने शंका व्यक्त गरेका छन् । उनीहरू लेख्छन्, ‘शरणार्थीहरू आधारभूत स्वास्थ्यको मापदण्डभित्र पनि छैनन् । स्वास्थ्य परीक्षण गर्न पाएका छैनन् । सानो झुपडीभित्र चेपिएर बस्छन् । 
उनीहरूलाई खानेकुरा, पानी, साबुनहरूको अभाव छ । त्यसकारण कोरोनाजस्ता रोग शरणार्थी क्याम्पमा फैलन एकदमै सजिलो हुन्छ ।’
कोरोना शरणार्थी क्याम्पसम्म पुगे धेरैको ज्यान लिने ठूलो सम्भावना देख्छन्, बिच र हबार्ड । अहिलेसम्म शरणार्थीहरूलाई कोरोनाको संक्रमण न्यून देखिनुमा उनीहरूलाई चेकजाँच नगराइएको हो कि भन्ने उनीहरूको शंका छ । किनकि हरेक देशले आफ्नै देशका नागरिकलाई पहिलो प्राथमिकतामा राख्छन् । शरणार्थीहरू अहिले परीक्षणको पहुँच र प्राथमिकतामै छैनन् ।
शरणार्थीको जीवन नै संक्रामक रोगका लागि उपयुक्त वातावरणको हुने गरेको उनीहरूको भनाइ छ । किनकि त्यहाँ न घरभित्र स्वस्थता हुन्छ, न बाहिर नुहाउनका लागि पानी हुन्छ । पोषिलो खानेकुरा पनि हुँदैन र पटक–पटक हात धुने सुविस्ता पनि हुँदैन ।
सम्पूर्ण शरणार्थीहरूको अवस्था टाइम्सले भनेजस्तै हो । नेपाल त्यसभित्र नपर्ने कुरै भएन । रोहिंग्या मात्रै हैन, यहाँ बसेका अन्य समुदायको अवस्था पनि उस्तै छ । झापामा बसेका करिब १० हजार भुटानी शरणार्थी हुन् या कपनमा रहेका रोहिंग्याहरू अथवा अरू देशबाट आएका शरणार्थी नै किन नहुन्, क्याम्पमा दुःखजिलो गरेर जीवन गुजार्नेहरूको अवस्था उस्तै छ । 
समस्या नेपालमा आइपुगेका शरणार्थीको मात्रै हैन, विश्वभरि नै उस्तै छ । म्यानमारबाट बंगालादेश आइपुगेका झन्डै साँढे आठ लाख रोहिंग्याहरू हुन् या ग्रिसको लेसबसमा तीन हजारका लागि बनाइएको क्याम्पमा २० हजारजना बसेका विभिन्न देशका शरणार्थी हुन्, सबै कोरोना संक्रमणको उच्च जोखिममा छन् । गाँजा क्षेत्रमा बसेका ८६ हजार प्यालेस्टाइनी शरणार्थी पनि तल्लोस्तरको जीवन गुजारिरहेकाले उनीहरू पनि उच्च जोखिममा छन् ।
लेसबसको क्याम्पलाई कोरोनाको उच्च जोखिम रहेको देखाउँदै ‘द गार्जियन’ले त्यहाँको अवस्था एकदमै नाजुक रहेकाले बतायो । मोरियो क्याम्पमा बस्ने धेरै परिवार ओतविनै रात काट्न बाध्य छन् । ओत लाग्न उनीहरूसँग त्रिपालको छानो भएको एउटा सानो कोठा पनि छैन । क्याम्पमा बस्ने एक शरणार्थी ३० वर्षीया शेरजाद (२२ दिने बच्चाकी आमा हुन्) को भनाइ उतार्दै गार्जियनका लागि ह्यारिट ग्रान्टले भनेका छन्, ‘गत हप्तादेखि बजार बन्द भयो । नानीको लागि डाइपरसमेत किन्न पाइनँ । औषधि र खानेकुरा किन्नु थियो तर पाइएन । क्याम्पको खानेकुरा स्वस्थ छैन । जे पायो त्यही खायो भने बच्चाका लागि दूध पनि आउँदैन र मेरो बच्चा भोकले रुन थाल्छ ।’
मोरिया क्याम्पमा यस्ता बिजोग प्रशस्तै देख्छन्, ग्रान्ट । स्वास्थ्य टोली पनि जोखिमका कारणले त्यहाँ जान मान्दैनन् । ग्रिक सरकारले उनीहरूलाई कुनै सहयोग उपलब्ध गराएको छैन । ग्रान्ट भन्छन्, ‘उनीहरूलाई दैनन्दिनको चिन्ता त थियो । कोभिड–१९ पनि थपिन आइपुग्यो ।’
गाजामाथि नै ‘वासिंटन पोस्ट’मा पत्रकारद्वय स्ट्रिभ हेन्ड्रिक्स र लुइजा लभलकले भनेका छन्, ‘कोरोनाबाट बच्नका लागि दूरी कायम गर्नुपर्छ भनिए पनि शरणार्थीलाई त्यो सुविधा छैन । गाजा स्ट्रिपका शरणार्थी पनि कोचिएरै बसेका छन् । त्यसैले कोरोना सल्कने एकदमै डर छ ।’
‘अलजजिरा’मा हेनरियटा फोर्टले संक्रमण दु्रत रूपमा फैलिरहेको अवस्थामा शरणार्थीको विषयमा सोच्न ढिलो भइसकेको बताएकी छन् । 
क्याम्पमा कोरोना फैलियो भने त्यसको सबैभन्दा ठूलो क्षति बालबच्चाले व्यहोर्नुपर्ने बताइएको छ । अलजजिराका लागि हेनरियटा फोरले भनेकी छन्, ‘अहिले संसारभर ३ करोड १० लाख बालबालिका घरबाहिर छन् । त्यसमध्ये एक करोड ७० लाख बालबालिका घरबारविहीन छन् ।
एक करोड २७ लाख बालबालिका शरणार्थी भएर बसेका छन् । ११ लाख बालबच्चा शरणको खोजीमा छन् । यी सबैलाई यो महामारीबाट जोगाउने हो भने अहिले सहयोग चाहिएको छ ।’
अहिले ग्रिक आइसल्यान्डमा रहेका ४० हजार शरणार्थीमध्ये ११ हजारभन्दा धेरै बालबालिका रहेको फोरको भनाइ छ । त्यस्तै, बंगलादेशमा पनि झन्डै पाँच लाख रोहिंग्या बालबालिका रहेको अनुमान गरिएको छ ।
सिरियाकै पनि उत्तरपूर्वी क्षेत्रमा ६० भन्दा बढी देशबाट आएका २८ हजार बालबालिका शरणार्थी क्याम्पमा बसेका छन् । देशमा युद्ध चर्किएका वेला भागेका धेरै शरणार्थीलाई यतिवेला कोरोनाले लखेटिरहेका छ । फोर भन्छन्, ‘यी सबै बालबालिकाका लागि केही पनि सुविधा छैन । बिरामी भइहाले भने डाक्टर बोलाउन सक्दैनन् । उनीहरू आवश्यक पर्दा हात धुन पनि सक्दैनन् । कोरोनालाई पराजित गर्न उनीहरूको सामथ्र्य छैन ।’ 
अहिलेसम्म शरणार्थी क्याम्पमा कोरोना फैलिएको समाचार सुन्न परेको छैन । तर, उनीहरू अवस्था हेर्दा महामारीको पर्खाइमा बसेझैँ लाग्छ । यदि क्याम्पमा कोरोना फैलियो भने त्यसको सामना गर्न सक्ने गरी उनीहरू तयार छैनन् । उनीहरूको जीवनशैलीका कारण यो महामारी बरु क्याम्पमा पुग्यो भने एकदमै द्रुत रूपमा प्रभाव पार्न सक्छ ।
सुविधा सम्पन्न भनिएका र सबै हिसाबले जुध्न सक्नेहरू त कोरोना संक्रमणबाट अछुतो रहन नसकेको यो अवस्थामा शरणार्थीहरूको हविगत कस्तो होला, सहजै अनुमान लगाउन सकिन्छ । दैनिक खानपान र बसाइ स्थितिले कोरोना फैलियो भने उनीहरू हदैसम्म बिरामी हुने र त्यसलाई प्रतिरोध गर्न नसक्ने सम्भावना प्रबल देखिन्छ ।
साभार: नया पत्रिका 

Post a Comment

0Comments

Post a Comment (0)