'डिजिटल डिभाइड' का दुष्परिणाम

0

उमा भण्डारी- ठमेलका एकजना किताब बिक्रेताले मलाई 'फुर्सत निकालेर भए पनि पढ्नुपर्छ, तपाईहरूको सिको तपाईका छोराछोरीले गर्छन्, उनीहरूलाई पनि पढ्ने लत लाग्छ' भनेर अर्ति दिए । सिको गर्ने भनेको सानैदेखि हो । कम्प्युटर गेम र टिभीबाट बच्चालाई टाढा राख्नुभयो भने उनीहरूले साँच्चैको सिको गर्छन् । उनको जिकिर थियो । मैले क्रिसमस हमफ्रेज बुद्धिजम नामको किताब मनलागी-नलागी लिएँ ।
बिक्रेताले भनेका कुराले चाहिं मलाई छाडेन । गाडी चढिसकेपछि पनि तिनै कुरा मनमा खेल्न थाले । दुईजना साथी भेट भयो कि छोराछोरीको कुरा गर्न थाल्छन् । विषयवस्तु एउटै हुन्छ- छोराछोरी मनलगाएर पढ्दैनन् । भनेको सुन्दैनन् । आँखा छल्न पायो कि कम्प्युटरमा बस्छन् र गेम खेल्न थाल्छन् । अलि उमेर पुगेका किशोर-किशोरीलाई त झन् इन्टरनेट भएपछि केही चाहिन्न । खान पनि बिर्सन्छन् । काम अह्रायो भने झर्केर ढोका बजार्छन्....आदि-इत्यादि ।
'जेनेरेसन ग्याप' अचम्मकै रोग रहेछ । अघिल्लो पुस्ता जतिसुकै आधुनिक, समझदार भए पनि पछिल्लो पुस्ताभन्दा अनुदार, संकीर्ण एवं परम्परागत मान्यता बोकेर हिंड्दो रहेछ । ऊ प्रविधिहीन आफ्नो समय सम्झँदो रहेछ र त्यसैअनुसार आफ्ना बालबच्चा बनुन् भन्दोरहेछ । तेरा उमेरमा मेरा बाबुका यति छोराछोरी थिए । तेरा उमेरमा मैले यति बच्चा जन्माइसकेको थिएँ । तेरा उमेरमा यति भाइबहिनी स्याहार्थ्यौं, यति घाँसपानी गथ्र्यौं, यति टाढा गएर पढ्थ्यौं आदि ।
सहरका अभिभावक अझै पनि यो खरीपाटी र चकटी च्यापेर दौराको भरमा विद्यालय जाने युग होइन, झोलामा ल्यापटप बोकेर स्कुल जाने युग हो भनी बुझ्न गाह्रो मान्छन् । स्कुलबाट र्फकन नपाई रोटी र मकै-भटमास चपाउँदै घाँसदाउरा गर्न वा आमाबालाई खेतमा पालो दिनुपर्ने युग होइन । यहाँ त स्कुलबाट फर्कदा 'यार'सँग गफ चुट्दै कफी वा आइसक्रिम खाएर ढिलो गरी घर र्फकने र बाबु-आमासँग तर्किएर ढोका थुन्ने अनि ड्रेसै नफेरी उही कम्प्युटर वा टिभीमा बस्ने युग हो । यो बाबु-आमासँग डराउने युग होइन, बरु उनीहरूलाई तर्साउने युग हो । युगले निम्त्याएको प्रतिस्पर्धा नबुझ्नु बाबु-आमाको ठूलो कमजोरी हो । अझ भन्ने हो भने कतिपय बाबु-आमा आफू कम्प्युटर वा टिभीको अगाडि घन्टौ बसे पनि छोराछोरीले चाहिं त्यसो नगरुन् भन्ठान्छन् । यो त झनै ठूलो विडम्बना हो । चुरोट खाने शिक्षकले चुरोट नखाने अर्ति दिंदै मैले भनेजस्तो गर, गरेजस्तो नगर भनेजत्तिकै व्यर्थ हो ।
डिजिटल डिभाइड आधुनिक सञ्चार प्रविधिको पहुँच हुने र नहुने बीचको खाडल जनाउन प्रयोग गरिन्छ । हाम्रो देशमा भने प्रविधिको पहुँच हुने बीचमै पनि एकरूपता छैन । उदाहरणका लागि इन्टरनेट हेरौं । इन्टरनेट चलाउनेमध्ये सबैले अनलिमिटेड सुविधा प्रयोग गर्न पाएका छैनन् । आंशिक सुविधा लिने कतिपय युवायुवती साइवर धाउँछन् भने कतिपयचाहिं साथीको घरतिर जान्छन् । अझ कतिपयचाहिं पकेट खर्च काटेर सिमकार्ड चलाउँछन् । केही भने अत्याधुनिक मोबाइलबाटै काम चलाउँछन् । लोडसेडिङका बेला कतिपय केटाकेटी रातभर जाग्राम बसेर च्याट गर्छन् । अनि बिहान अभिभावकको कचकच सुन्यो, सब बेहाल ।
घरभित्रको कथाजस्तै छ, घर बाहिरको कथा पनि । बाटोघाटो र सार्वजनिक सवारी साधनमा हिंड्दा प्रायः युवायुवती मोबाइल खेलाएर बसिरहेका हुन्छन् । गीत सुन्ने, मेसेज गर्ने, गफ गर्ने, फोटो हेर्ने इत्यादि । यस्तो लाग्छ, यो पुस्ताविना उपकरण एक सेकेन्ड बाँच्न सक्दैन । विचरा अभिभावक, तिनका पालो सम्झेर अहिले पनि यी सब कुरामा बेखबर भएझैं रहन खोजे भने के हुन्छ ?
पाउलो फेरीले भनेजस्तै घोकन्ते छ, नेपालको शिक्षा प्रणाली । यो शिक्षाले नत कमाइ गरी खान सिकाएको छ, न आत्मबल बढाउन नै । सिर्जनशील एवं अनुसन्धानमुखी शिक्षा छैन । ए लेभलमा टप भएको विद्यार्थीले भान्छामा आमाले दैनिकजसो पकाइ ख्वाउने केराउ र भटमास छुट्याउन नसकेको मैले देखेको छु । सबैले छुट्याउनै जान्नुपर्छ भन्ने जिकिर होइन, तर घरव्यवहारबाट बेखबर यी केटाकेटी र बाबु-आमाबीच चर्काचर्की परिरहनु अनौठो भएन । घरपछिको दोस्रो घर विद्यालयले पनि जीवनमुखी शिक्षा दिन सकेन । विद्यालय हाता बाहिरको आचरणलाई  मूल्यांकन गर्ने व्यवस्था ऊसँग छैन । 
सूचना र प्रविधि बिनाको एक्काइसौं शताब्दी कल्पना गर्न सकिन्न । तर युवा पुस्ताले यसको प्रयोग राम्रो मनोरञ्जनका लागि गरेको देखिन्छ । कतिपय केटाकेटी इन्टरनेटको सुविधा मागेर अभिभावकसंग झगडा गर्छन् । यिनैमध्ये पनि कसले चलाउने र कसले छोड्ने भनेर पालो पर्खंदा रातभरि जागा बस्नेदेखि एकान्त खोज्ने, ढोका लगाएर बस्ने, लेखपढ नगर्ने, बेलामा खान नआउने, पाहुनाबाट टाढिने गर्छैन्, जिम्मेवारी आएमा झर्किने, उस्तै साथी जम्मा गर्ने गर्छन् ।
केटाकेटीहरू स्वभावैले नयाँ कुराको खोजी गर्न उत्सुक हुन्छन् । सुरु-सुरुमा साथीभाइको देखेर वा घरमै पनि आफूभन्दा ठूलाले प्रयोग गरेको कुरा उनीहरूले सिको गर्छन् । पछिपछि भए पनि उनीहरू बिस्तारै अभ्यस्त हुँदै जान्छन् र त्यसैमा लत बस्दै जान्छ । हाम्रोजस्तो यौन र यौनसम्बन्धी कुरा खुलेर गर्न नपाइने समाजमा इन्टरनेटभित्र रहेका यससम्बन्धी लाखौं सामग्रीले उनीहरूलाई तान्दै लान्छ । यसैगरी फेसबुक लगायतका लिंकबाट कम्प्युटर डेटिङमा बस्ने केटाकेटीका लागि इन्टरनेट ड्रग्सजस्तै भएको छ । उनीहरू सामाजिक कार्यक्रममा कम देखिने, बढी चिढिने, झोंक्किने, पढाइलाई वास्ता नगर्ने गर्छन् ।  शीर्जनशीलतामा ह्रास आउनु सबैभन्दा ठूलो खराबी हो ।
आधुनिक प्रविधि पनि सामाजिक, सांस्कृतिक स्वरूपको एउटा पक्ष हो । यसकारण एकापसमा दोषारोपण गर्ने भन्दा अभिभावक तथा केटाकेटी दुवैले एकअर्कोलाई सम्झाउन र विश्वासमा लिन सक्नुपर्छ । अभिभावकले मेरा पालाको कुरा र केटाकेटीले आधुनिक युगमात्रै भन्ने हो भने यो समस्या कहिल्यै समाधान हुँदैन । केटाकेटीहरूसँगै बसेर वैकल्पिक उपायतिर अभिप्रेरित गराउन तथा उमेर अनुसारको जिम्मेवारी दिने गर्नुपर्छ । शिक्षालयमा घोकन्ते र चोरन्ते विद्या रहेसम्म बालबालिकाबाट सिर्जनात्मक अभिव्यक्तिको अपेक्षा गर्न सकिंदैन । अभिभावक परम्परागत भए भनेर रातदिन फेसबुक र युट्युबमा अश्लील भिडियो हेर्दै समय बर्बाद गर्ने हो भने भोलिको दिन साह्रै भयावह हुन्छ ।
गाउँका भाइबहिनीहरू जो डिजिटल डिभाइडका कारण आफू पछि परेका छौं भन्ने लागेको छ भने तिमीहरू त्यो चिन्ता नगर । सहरका तिम्रा समकक्षीहरूभन्दा तिमीहरू धेरै भाग्यमानी छौ, किनभने तिमीहरूको एउटैमात्र समस्या छ, त्यो हो, कम्युटर तथा इन्टरनेटको पहुँच छैन । यो बुझ कि कम्प्युटर सिक्न जान्न पहिलेजस्तो कुनै महाभारत छैन ।
श्रोत : eKantipur.com

Post a Comment

0Comments

Post a Comment (0)